पूर्वी नेपालमा 'एथलेटिक्स' को महाकुम्भ 'धरान रन' को १२औं  संस्करणको पुरुषतर्फको उपाधि केन्याली धावक जुलियस मुरिउकीले हात पारेका छन् । यस्तै महिलातर्फ दक्षिण एसियाली म्याराथनकी गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठले हात पारिन् । उनी पोखरा अन्तर्राष्ट्रिय हाफ म्याराथनकी विजेतासमेत हुन् ।

धरान १० के रन २०२४ अन्तर्गत १२औं  नेवा च्यारिटी रन को १० किलोमिटर दूरी ३२:५० मिनेटमा पार गर्दै मुरिउकीले उपाधिसँगै ६० हजार रुपैयाँ प्राप्त गरे । सन्तोषीले ३८:०८ मिनेटमा दूरी पार गरिन् ।

यसअघि १० किलोमिटर दौडमा मुरिउकीले सन् २००७ मा २८:४९ मिनेट, २००८ मा २९:०९ मिनेट र सन् २०१० मा २९:१३ मिनेट रेकर्ड बनाएका थिए ।

टाइमिङ चिप सिस्टममा दौडिएका ३ हजार ६ सय धावकले धरानको १० किलोमिटर दूरी पार गरे ।

भानुचोकबाट बिहान ठीक  ७:३० बजे सुरु भएको दौड मा ३४:०० मिनेटमा दूरी पार गरेका प्रशान्त तामाङ दोस्रो बने । उनले ट्रफी मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गरे । तेस्रो बनेका पवन राईले ३४:११ मिनेटमा निर्धारित दूरी पार गरे । उनले ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ प्राप्त गरे ।

स्पर्धामा ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिएको थियो । जसका विजेता महिला पुरुष दुवै विधामा प्रथम, दोस्रो, तेस्रो हुनेले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।

१२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे।

४० वर्षमाथिका भेट्रान विधामा दौडने स्पर्धीले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे ।

यसपालीको च्यारेटी रनबाट उठ्ने रकम सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिने बताइएको छ ।

'धरानको गौरव र पर्यटन, प्रवर्द्धन विकासको अभियानसँग 'धरान रन'लाई जोडिएको थियो । 'रन' मा जनप्रतिनिधि, कलाकारलगायत प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो । 

थप विवरण हेर्न लिङ्कमा क्लिक गर्नुहोस् ।