विराटनगर । विराटनगर महानगरपालिका–१८ ‘दमादिगी’ ४८ वर्षीय दिलिपकुमार अमात मिटरब्याजको ऋणले चार वर्षमा सडकमा आएका छन् ।

आमा र बाबुको काजकिरिया गर्न र घरखर्च चलाउन विराटनगर–१८ का सुनिल साहसँग चार वर्षअगाडि १० कठ्ठा जग्गा कपाली तमसुक बनाएर २ लाख रुपैयाँ मासिक २ रुपैयाँ ब्याजमा ऋण लिए । उनले चार वर्षको अवधिमा ३ लाख रुपैयाँ साहलाई बुझाइसके । ढिलो गरी पैसा दिएको भन्दै दिलिपलाई थाहै नदिइकन सुनिलले एक वर्षअगाडि नै १० कठ्ठा खेतीयोग्य जमिन बेचिदिए । साहले जग्गा बिक्री गरेको एक वर्षपछि मात्रै दिलिपले पत्तो पाए । वर्षौंदेखि खेती गर्दै आएको जग्गामा दिलिप एक दिन खनजोत गर्न गएका थिए । खेतमा आएर दिलिपलाई स्थानीय सञ्जय आमतले सुनिलसँग आफूले जग्गा किनेको भन्दै खनजोत गर्न दिएनन् । सञ्जयको कुरा सुनेपछि उनी छाँगाबाट खसेजस्तो भए । सम्पत्तिको नाममा उनीसँग ६ जनाको परिवार चलाउने त्यही १० कठ्ठा जग्गामात्र थियो । उनले सिजनअनुसार बाली लगाएर त्यहाँबाट उब्जनी भएको अन्नपात बेचेर परिवारको गुजारा चलाउँदै आएका थिए ।

आफ्नो नाममा रहेको जग्गा थाहै नपाई बेचिएको पत्तो पाएपछि जग्गा दिलाइदिन दिलिप स्थनीय जनप्रतिनिधिसँग पुगे । कुनै पार नलागेपछि उनी मङ्गलबार दिउँसो विराटनगर महानगरपालिकाको कानून शाखामा आइपुगे । त्यहाँ उनले कानून शाखाका प्रमुख शारदा थपलियालाई भेटेर मिटरब्याजले आफूलाई उठिबास लगाएको सुनाए । उनले कसरी आफ्नो नाममा रहेको जग्गा आफूलाई थाहै नदिई बिक्री भयो भन्दै आफ्नो नाममा जग्गा दिलाइदिन थपलियासँग हारगुहार गरे ।

‘दमादिगी’ गाउँमा मिटरब्याज आतङ्क
गाउँकै छिमेकी साहसँग मिटरब्याजमा लिएको ऋणको कारण दिलिप अहिले घरबारविहीन भएका छन् । पञ्चायतकालमा जाली तमसुक बनाएर साहुमहाजनले गरिबको उठिबास लगाएको घटना प्रशस्तै देख्दै, सुन्दै आइएको हो । निरक्षरलाई तमसुकमा औंठाछाप लगाएर बसाइँ हिँड्न बाध्य बनाएको पनि समाजमा प्रशस्तै उदाहरण छन् । तर, अहिले व्यवस्था फेरिएर लोकतन्त्रलाई अँगाल्दा पनि ‘जति तिर्दा पनि नसकिने’ ऋणबाट ‘दमादिगी’ गाउँमा कतिपय अहिले पनि घर न घाटका भएका छन् । सुन्दा अचम्म लाग्ला तर विराटनगर–१८ ‘दमादिगी’ टोलमा मिटरब्याज धन्दाको जालो निमुखा गरिबको सामु भयावह बन्दै गएको छ ।

कागज गर्दा कहाँ के लेखियो, त्यति ध्यान नपुगेको स्वीकार्दै दिलिपले कपाली तमसुकमा हस्ताक्षर गरेको बताए । त्यसयता उनले पैसा तिरेको ति¥यै छन् तर, कहिल्यै सकिएको छैन । दिलिपले पटक–पटक गरी चार वर्षमा ३ लाख दिइसके । अझै सुनिलले २२ लाख माग्दै आएको उनले बताए ।

यसैगरी विराटनगर–१८ ‘दमादिगी’ कै ४५ वर्षीय रमानन्द मण्डलले ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्षअगाडि २ लाख रुपैयाँ ऋण लिए । उनले १ लाख ८० हजार सुनिललाई सावाँ र ब्याज तिर्दैछन् । उनलाई अझै सुनिलले ८ लाख बुझाएमात्रै ४ कठ्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन् । चार कठ्ठा जग्गाको लालपुर्जा सुनिलसँग छ । उक्त जग्गाको बजारभाउ करिब २० लाख बढीको रहेको उनको अनुमान छ । आफ्नो जग्गा उकास्न अब ८ लाख बुझाउनुपर्ने भएपछि मण्डल परिवार दिउँसै अँध्यारो देख्न थालेका छन् । २ लाख ऋण तिर्न भएभरको जायजेथा नै सकिन लागेपछि पनि सुनिलले दिएको सावाँ र ब्याज नसकिएपछि आधा दर्जन बढी मिटरब्याज पीडित मङ्गलबार विराटनगर महानगरपालिका आइपुगे । उनीहरू महानगरपालिकाको कानून शाखाका प्रमुखसँग राय लिएपछि बुधबार मिटरब्याजमा ऋण लगाएर उठिबास लगाउने सुनिल साहविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गर्दैछन् ।

उल्लिखित घटना प्रतिनिधिमूलक मात्र हुन् । उजुरी परेपछि विराटनगर–१८ का सुनिलबाट पीडित भएका अन्य खुल्दै जाने उनीहरू बताउँछन् । रमानन्द र दिलिपको पीडा त केवल उदाहरणमात्र हो । विराटनगर–१८ दमादिगीकै ४७ वर्षीय नारयण साहको पिरको पारो योभन्दा उच्च छ । सुनिलसँग उनले तीन वर्षअगाडि ७ लाख ऋण लिए । उनले अहिलेसम्म ऋणपान गरेर २१ लाख ७ हजार रुपैयाँ तिरेपछि मात्र ६ कठ्ठा जग्गा फिर्ता गरिदिए । अहिले आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिन उनी लडाइँमा लागेका छन् । नारायणकी ६५ वर्षीया आमाले १७ धुर जग्गा सुनिलले राखेर १ लाख २५ हजार रुपैयाँ ऋण दिएका छन् । लक्ष्मीदेवीले अहिलेसम्म ५५ हजार रुपैयाँ बुझाइसकेको बताइन् । सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

यस्तै विराटनगर–१८ कै ६८ वर्षीय महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कठ्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ ऋण लिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरिसके । अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने भन्दै आएका छन् । ‘रिन बढिरह्यो, गरिखाने जग्गा पनि गयो तर, रिन सकिएन’–महेशले भने ।

मिटरब्याजी साहविरुद्ध आज उजुरी दिँदै
उनलाई अझै पैसा दिन सुनिलले दबाव दिने गरेका छन् । त्यही दबाव थेग्न नसकेर उनीसहित सुनिलबाट पीडित भएका आधा दर्जन पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा बुधबार दिउँसो उजुरी दिएका छन् । ‘जालझेल र तिकडम कतिसम्म हुँदोरहेछ भन्ने थाहा पाउन यहाँ परेको निवेदनले प्रष्ट्याउँछ’ विराटनगर महानगरपालिका कानून शाखाका प्रमुख शारदा थपलिया भन्छिन्, ‘विपन्न परिवारलाई मिटरब्याजमा ऋण दिएर अहिले उठिबास लगाउने गरेको पाइएको छ ।’ यसअघि महानगरपालिकामा भएको पटक–पटकको छलफल निष्कर्षमा नपुगेपछि थप कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पठाउने तयारी गरिएको उनले बताइन् । ‘मेयर सा’वको रोहवरमा धेरै पटक छलफल भयो । निमलेपछि थप कारबाहीको लागि प्रशासनमा पठाउने तयारी गरिएको छ’–उनले भनिन् ।

मिटरब्याजविरुद्ध २५० उजुरी
जिल्ला प्रशासन कार्यालय मोरङमा हालसम्म  २ सय ५० जनाले उजुरी दिएका छन् । हालसम्म ९७ वटा भने मिलापत्र गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहका अनुसार दुई दर्जन बढी निवेदन दुवै पक्षबीच सहमति हुन नसकेपछि अदालत पठाइएको छ र अन्य उजुरीहरु विचाराधीन छन् । २२ साउनसम्मको अभिलेखअनुसार दर्ता भएकामध्ये १ सय ७३ जना पीडितले सावाँ र ब्याज तिरिसक्दा पनि १४ करोड ९१ लाख ७२ हजार ७ सय रूपैयाँ बढी रकम तिर्नुपर्ने मिटरब्याजीको दबाव छ । जसमध्ये पनि १९ जना पीडितले १० लाख ऋण लिएकोमा ३५ लाखसम्म तिर्नुपर्ने दबाव छ । ३५ लाखभन्दा बढी तिर्नुपर्ने १९ जना पीडितले ३ करोड २९ लाख ८४ हजार ७ सय रकम तिर्नुपर्ने मिटरब्याजीहरुको दबाव छ । यसैगरी २९ जना पीडितले सावाँ र ब्याज तिरिसक्दा पनि अझै ७ करोड ३७ लाख ५ हजार तिनुपर्ने दबाव छ । उक्त उजुरीको विषयमा छिट्टै छिनोफानो गर्ने गरी काम अगाडि बढिरहेको सहायक प्रमुख जिल्ला अधिकारी साहले बताए । ‘निवेदन दर्ता भएपछि हामीले दुवै पक्षलाई छलफलमा बोलाउने गरेका छौं । । हामीले सहजीकरण गर्दा पनि नमिल्ने निवेदनउपर विद्यमान कानूनअनुसार प्रक्रिया अगाडि बढाउने गरिएको छ’ उनले भने, ‘तीन पटकसम्म सहमतिको लागि प्रयास गरिन्छ । त्यसपछि पनि सहमति भएन भने कानूनअनुसार प्रक्रिया अगाडि बढाउने गरिएको छ ।’