विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरंैचा–६ दुलारीस्थित पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ ।

आइतबार राति सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विजेतासमेत रहेको पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अङ्क ल्याएर प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)  मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा जुनियरतर्फ तीन स्वर्ण, चार रजतसहित ३० अङ्क ल्याएर सुन्दरहरैंचाको सिद्धार्थ सेकेण्डरी स्कुल द्वितीय र तृतीय सगरमाथा स्कुल भएको छ ।

यस्तै विराटनगरको एभरेष्ट स्कुलले तीन स्वर्ण, ३ कास्य पदकसहित २१ अङ्क ल्याएर चौथो भएको छ । यसैगरी सिनियरतर्फको द्वितीय १५ अङ्क ल्याएर बिकेभिएम स्कुल र १३ अङ्क ल्याएर तेस्रो पथरीको एभरेष्ट स्कुल भएको छ । प्रतियोगिताको छात्रातर्फको उत्कृष्ट खेलाडी पूर्वाञ्चल एकेडेमीकी सृजना वि.क. घोषित भइन् । उनले खेलभरिमा पाँचवटा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी छात्रतर्फको उत्कृष्ट खेलाडी सिद्धार्थ स्कुलका सुबोध चौधरी घोषित भए । उनले दुई स्वर्ण र एक रजत पदक जितेका थिए ।

बास्केटबलमा बिकेभिएम च्याम्पियन
विराटनगरको बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको छ । एभरेष्ट स्कुललाई ५७–३५ अङ्कको सोझो सेटले हराउँदै बिकेभिएमले बास्केटबलको उपाधि जितेको हो । बास्केटबलको तेस्रो  विराटनगरको सगरमाथा स्कुल भयो । सगरमाथाले सेन्टजोसेफ स्कुललाई ४८–१४ अङ्कको सेटले हरायो । खेलको उत्कृष्ट खेलाडी बिकेभिएमका गुणनन्द यादव घोषित भए ।

भलिबलको उपाधि चार स्कुललाई
भलिबलको जुनियर र सिनियर गरी चार स्कुलले उपाधि जितेका छन् । जुनियरतर्फको छात्रातर्फको प्रथम बूढीगङ्गाको मोरङ पब्लिक स्कुल र जुनियर छात्रतर्फ विराटनगरको मोडर्न एरा स्कुलले उपाधि जितेको छ ।

यसैगरी सिनियरतर्फ छात्रमा विराटनगरको कान्तिपुर कलेज र छात्रातर्फ पथरीको एभरेष्ट स्कुल प्रथम भएको छ । फुटबलको उपाधि सनरे र हरैंचा मोडललाई मोरङको रङ्गेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरंैचा मोडल स्कुलले फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सनरेले जुनियरतर्फ र हरैंचा मोडलले सिनियरतर्फबाट फुटबलको उपाधि जितेको हो ।

फाइनलमा सुन्दरहरैंचाको सिद्धार्थ स्कुललाई २–० गोलले हराउँदै सनरेले फुटबलको उपाधि हात पारेको छ । जितको लागि सनरेको तर्फबाट जीवन यादव र अनुज खवासले गोल गरे ।

सिनियरतर्फ टाइब्रकेरमा सेन्टजोसेफ स्कुललाई ५–४ गोलले हराउँदै हरैंचा मोडलले फुटबलको उपाधि जितेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफोना टाइब्रेकरबाट भएको थियो ।

जुनियरतर्फको बेस्ट गोलकिपर सनरेका इशान्त धिमाल, बेस्ट डिफेन्टर साहिल थारू, बेस्ट मिड फिल्डर जीवन यादव, बेस्ट फरवार्ड सिद्धार्थ स्कुलका प्रशान्त न्यौपाने भए । म्यान अफ द म्याच सनरे स्कुलका अनोज खवास र बेस्ट कोचमा सनरे स्कुलका प्रशान्त खवास घोषित भए ।

माघ २६ देखि २८ गतेसम्म सञ्चालन भएको प्याब्सन स्पोर्ट्स मिटमा जिल्लाभरिका २ सय १० वटा प्याब्सनमा आबद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिएको अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए ।

विजेता विद्यालयहरूलाई कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका निर्देशक नरेन्द्र ढकाल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका निवर्तमान अध्यक्ष शीतला सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।