सर्बङ्ग दारेचु

थिम्पु अनि डम्फु पारो

जाउँ जाउँ लाग्छ तिनै ठाउँमा

लगाको छन् तगारो.......

यो गीतका शब्दहरुले नेपाली भाषी भुटानी शरणार्थीहरुको पीडाको कथा भन्छन् । लामो समय शरुणार्थी शिबिरमा जीवन बिताएका मोती पौडेलले लेखेको यो गीतमा उनका आफ्नै अनुभवहरु पनि समेटिएका छन् । आफुले रगत पसिना सिंचिएको भूमीबाट लखेटिएपनि माटो प्रतिको माया कस्तो हुन्छ ? भन्ने उनले गीतका शब्दमा प्रस्तुत गरेका छन् । 

गीतमा भुटानबाट भागेर नेपालमा शरणार्थी हुनु परेको र नेपालबाट पनि परदेशी बन्नु परेको वास्तविक कथा व्यथा गीतमा समेटिएका छन् । गीतकार पौडेलमा नेपाल प्रतिको अगाध माया पनि झल्किएको छ ।  भुटानबाट लखेटिएर लामो समय नेपालमा शरणार्थी जीवन बिताएका गीतकार पौडेल हाल तेस्रो देश पुनस्र्थापनाका क्रममा अमेरिकामा छन् । संसारकै सुविधा सम्पन्न देश अमेरिकामा रहेपनि उनले गीत मार्फत आफुले जवानी बिताएका भुटान र नेपालको माया देखाएका छन् ।

गीतका शब्दको मर्म अनुरुप नै चर्चित संगीतकार उमेश रेग्मीले संगीत भरेका छन् । गीतको सुरुमै राखिएको हिमाली बाद्यबाधनको धुनले भुटानसँग सम्बन्धित शब्दहरुलाई न्याय गरेको छ । आफैं पनि गीतकार, गायक र संगीतकार रहेका रेग्मीले शब्द र स्वरको मर्म अनुसार नै संगीत भरेका छन् ।

गीतमा चर्चित गायक गायिका रामकृष्ण ढकाल र टिका प्रसाईंको स्वर सुन्न सकिन्छ । दर्जनौं चर्चित गीतका गायक ढकाल तथा गायिका प्रसाईंको स्वरले पनि गीतका शब्द र संगीतलाई उत्तिकै न्याय गरेका छन् । 

गीतको लिरिकल भिडियो संगीतकार रेग्मीकै च्यानल गोत्र इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । गीतको भिडियो पनि चाँडै निर्माण हुने बताइएको छ । 

गीतको संगीत सयोजन देबेन्द्र नेवाले गरेका हुन् भने मिक्सिङ महेश्वर मान राजभण्डारीले गरेका हुन् ।

गीतको लिरिकल भिडियो :