दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप आगामी फागुन ४ गतेदेखि हुने भएको छ ।

डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल र धरान बास्केटबल संघको सहयोगमा फागुन ९ गतेसम्म रनिङ कपको आयोजना हुन लागेको हो ।

बुधबार आज नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताबारे आयोजक डिपो स्कुलले जानकारी गराएको हो । प्रतियोगितामा झापा, सुनसरी र मोरङका १६  विद्यालयले सहभागिता जनाउने डिपो आर्दश बहुमुखी क्याम्पस प्रमुख राजकुमार राईले जानकारी दिए ।

प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

डिपो स्कुललाई योगदान दिएका दिवंगत मेजर श्रवणकुमार लिम्बूको सम्मानमा गत सालदेखि विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरबहादुर लिम्बूले जानकारी दिए ।

प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्बूको परिवारबीच सहकार्य रहेको अध्यक्ष लिम्बूले बताए । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठी व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष  र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान दिएको अध्यक्ष लिम्बूले बताए ।

उनकै पालामा डिपो स्कुलमा प्लस टु र ब्याचलर लेवल अध्यापन सुरु भएको थियो । उनको कोरोना महामारीको कारण २०७८ साल साउन १५ गते निधन भएको थियो ।

पत्रकार सम्मेलनमा स्वागत मन्तव्यको क्रममा व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्बूले मेजर श्रवणकुमार लिम्बूको योगदानका बारे प्रकाश पारेका थिए ।

प्रतियोगिताको सम्पूर्ण खेल धरान-१८ स्थित डिपो स्कुलको बास्केबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताका लागि अन्तिम मिति फागुन १ सम्म रहेको र खेल तालिका फागुन २ गते तयार गरिने आयोजकले जानकारी गराएको छ ।