गोर्खा आफैंले लडेको तर नलेखेको मलाया युद्धको कथा नेपाली दर्शकले पर्दामा हेर्न पाउने भएका छन् ।

मलाया युद्ध लडेका हुमबहादुर थापाबारे बेलायतका पूर्वरक्षामन्त्री जोन नटले आफ्नो पुस्तक ‘मेमोरेबल इन्काउन्टरर्स’ मा  उल्लेख गरेका छन् । 'हामी मलायन आतंकवादी मार्न उनीहरूको खोजीमा दिनहुँ जंगल डुल्थ्यौं। ती मलायन आतंकवादी कम्युनिष्टहरू थिए, जो मलायालाई बेलायतबाट स्वतन्त्र पार्न खोजिरहेका थिए।' उनले पुस्तकमा हुमबहादुर थापालाई पहिलो पटक सन् १९५४ मा मलायाको जंगलमा भेटेको उल्लेख गरेका छन् ।

मलाया युद्ध (सन् १९४८–१९६०) बारे गिरिराज घिमिरेको सहकार्यमा  निर्देशक मिलन चाम्सले तयार गरेको पटकथा अब पर्दामा देखिने छ । भूतपूर्व गोर्खा सैनिकसमेत रहेका चाम्सले निर्देशन गरेको फिल्म 'गोर्खा वारियर' आगामी फागुन ५ गते धरानमा 'ग्राण्ड रेडकार्पेट शो' हुने भएको छ ।
आज धरानमा पत्रकार सम्मेलन गर्दै रेड कार्पेट शोबारे निर्माण पक्षले जानकारी गराएको हो ।

आगामी फागुन ११ देखि देशव्यापी प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको  छ । नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा रहेको चलचित्रलाई निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताए ।

चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोटमा परेको थियो । बाफ्टा अवार्ड ओस्कारपछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ ।

चलचित्र निर्देशक चाम्सका अनुसार हलिउड चलचित्रमात्र प्रिमियर हुने ‘लण्डनको लेस्टर स्क्वाएर’मा चलचित्रको प्रिमियर गरिएको थियो । आइम्याक्स फर्म्याटमा निर्माण भएको चलचित्र बेलायतका हाइप्रोफाइलका व्यक्तित्वहरुको उपस्थितिमा बेलायती प्रधानमन्त्रीले सम्बोधन गरेर शुभकामना पठाएको पहिलो चलचित्र बनेको छ । कोरियन कम्पनीले ७ वर्षको लागि वर्ल्डवाइड सेलिङ राइट्स लिएको र अमेरिकन कम्पनीले वर्ल्डवाइड वितरण गर्न लागेको ऐतिहासिक चलचित्र भएकोले चलचित्र हेर्नै पर्ने बनेको निर्देशक चाम्सको भनाइ छ । 

बेलायतको नेशनल आर्मी म्यूजियमको तथ्यांक अनुसार बेलायतका तर्फबाट लडेको युद्धमा ५० हजारभन्दा बढी नेपालीको मृत्यु भएको छ ।

नेपालमा फागुन ११ मा प्रदर्शन हुने

‘गोर्खा वारियर’ नेपालमा फागुन ११ मा प्रदर्शन हुने भएको छ । फिल्मको ट्रेलर भने रिलिज भइसकेको छ । 

रितेश चाम्सले चलचित्रमा डेब्यू गरेका छन् । उनीसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, विरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । 

चलचित्र नेपालीसहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गरिने निर्देशक चाम्सले जानकारी दिए ।