धरानमा गोर्खा ट्रेल ब्लेजरको दोस्रो संस्करण अप्रिल ५ मा हुने भएको छ । यस वर्ष ट्रेल ब्लेजरमा ५ सय धावक साढे ८ किलोमिटर दूरी दौडने छन् ।

धरानस्थित पत्रकार महासङ्घको सभाहलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षकसमेत रहेका अयोजक गोर्खा  ट्रस्टका अध्यक्ष महेन्द्र राईले ट्रेल ब्लेजरबारे जानकारी दिए ।

दौडको दुरी साढे ८.५ किलोमिटर हुनेछ । उक्त दुरी धरान–१८ रत्नचोकबाट सुरु भएर मंगलबार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित व्रिटिश गोर्खा स्मृति पार्कमा समापन हुनेछ ।

दौडका महिला र पुरुषअन्तर्गत प्रथम, द्वितीय, तृतिय, र चतुर्थ हुनेलाई क्रमश : १५ , १०, ५  हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

पहिलो र दोस्रो विश्वयुद्ध लडेर वीरगति प्राप्त गरेका गोर्खाको सम्मानमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता दोस्रो पटक आयोजना गर्न लागिएको हो ।


विश्वयुद्ध लडेका गोर्खा योद्धाहरुलाई अभिनन्दन

दोस्रो विश्वयुद्ध लडेका गोर्खा योद्धाहरुलाई गोर्खा सिमेट्रीज ट्रष्टले गोर्खा ट्रेलब्लेजरको दोस्रो संस्करण आयोजनाका अवसरमा सम्मान अभिनन्दन गर्ने भएको छ ।

अभिनन्दन गरिने योद्धाहरुमा खोटाङ जन्तेढुङ्गाका ९९ वर्षीय डम्बरसिंह सुक्तिहाङ राई, तेह्रथुम फेदाकका १०१ वर्षीय बमबहादुर निङ्लेखु (लिम्बू), झापा बाह्रदशीका १०३ वर्षीय डम्बरध्वज लिन्बू र भोजपुर टेम्के मयुङका १०१ वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।

ट्रष्टले यो सम्मान दोस्रो पटक दिन लागेको हो । गत वर्ष दोश्रो विश्वयुद्धका जीवित साक्षी आर्मी नम्बर १० गोर्खा राइफल २११४१५४६ भएका ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई, १० गोर्खा राइफल १०९२१४–४ भएका तेह्रथुम घर भई धरान–११ का १०१ वर्षीय धनदल लिम्बू र १ गोर्खा राइफल आइए १५९२१ भएका संखुवासभा घर भई  विराटनगरका १०१ वर्षीय मानबहादुर लिम्बू रहेका थिए ।