'वराहक्षेत्रको पर्यटन, विकास र समृद्धिका लागि माओवादी अभियान: रुपान्तरण, एकता र क्रान्तिकारी नेतृत्व निर्माणसहित अघि बढ्न दोस्रो नगर सम्मेलन'को मूल नारासहित नेकपा माओवादी केन्द्र वराहक्षेत्रको दोस्रो नगर सम्मेलन चक्रघट्टीमा सुरु भएको छ ।

शनिबार उत्साहजनक उपस्तिथि माझ पार्टीका कोशी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ 'मिक्सो' ले सम्मेलनको उद्घाटन गरे ।

सम्मेलनमा गणतन्त्र नचाहाने व्यक्ति बाटामा उभिएर कराइरहेको टिप्पणी गरिएको थियो । माओवादीको राजनीतिमाथि विभिन्न शक्तिले हस्तक्षेप गरिरहेको सम्मेलनमा विषय उठेको थियो । आम मानिसमा राजनीतिक दल र नेताहरुप्रति वितृष्णा देखिएको र केही व्यक्ति/सङ्गठनले 'लडेर ल्याएको गणतन्त्रमाथि धावा बोल्ने काम' गरिरहेको टिप्पणी भएको थियो । शुभकामना दिंदै दलका नेताहरुले दलसँगै जनताको समानता र न्यायको पक्षमा व्यवस्थाअनुकूल काम गर्न अपेक्षित रहेको बताइएको थियो ।

उद्घाटन समारोहमा स्थानीय सबै राजनीतिक दलका नेतृत्वलाई आमन्त्रण गरिएको थियो । नगर सम्मेलनमा  कार्यपालिका सदस्य र वडा सदस्यलगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा सहिद परिवार र बेपत्ता परिवारका सदस्यको समेत उपस्थिति रहेको थियो । पार्टीका निर्वाचन आयोगका संयोजक राजेन्द्र किराती, प्रदेश कमिटी सदस्य अशोक राई, कमल कट्वाल, प्रदेश परिषद सदस्य गणेश पाण्डे, धरान इन्चार्ज चोत्लुङलगायतका नेताको आतिथ्य रहेको थियो ।

नगरसम्मेलनमा स्थानीय दलका नेतृत्वले नगर सम्मेलनमा शुभकामना मन्तव्य राखेका थिए ।
वराहक्षेत्र विशेष नगर सम्मेलन आयोजक समिति आयोजक समितिका संयोजक पृथ्वी किराँतीको सभाध्यक्षतामा आयोजित सम्मेलनमा नेता तुलसी पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम पूष्प ढुङ्गानाले सञ्चालन गरेका थिए ।

भूगोल र जनवर्गीय संगठनबाट प्रतिनिधि आएका २९८ सदस्यले सम्मेलनमार्फत ६५ सदस्यीय कमिटी निर्माण गर्नेछ भने पार्टीले १० प्रतिशत सदस्य मनोनित गर्नेछ ।
नगरको नयाँ नेतृत्वका लागि पार्टी कार्यकर्ताले सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने कुरा उठाइरहेका बेला ४ आकाङ्क्षी दाबेदारीमा देखिएका छन् ।
अध्यक्षका लागि कमल कट्वाल, तुलसी पाण्डे, सङ्गीता किराँती, अमित गौतम लगायतका नेता छन् ।

स्थानीय निर्वाचनदेखि २० महिना गतिरोध झेलिरहेको पार्टीलाई चलायमान बनाउन नगरसम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।