धरान । इटहरी–१ गङ्गा मार्गमा बस्ने देवीमाया खड्काले १४ वर्षअगाडि सिकेको ढाकाको सीपले अहिले उनी व्यवसायी बनेकी छन्।

त्यो समयमा आफ्नै सिकाइले ढाकाको सारी बुन्न सिकेको उनी बताउँछिन् । छिमेकीले तान बुनेको देखेपछि उनले पनि घरमा तान बनाएर आफ्नै तरिकाले सारी बुन्न सुरु गरेकी थिइन् ।

यसरी सिकेको ढाकाको सीपले अहिले उनलाई व्यवसायी बनाएको छ । उनले आफू मात्रै नभएर अन्य दिदीबहिनीहरूलाई समेत रोजगारी दिएकी छन्। खड्काले दमकबाट तरहरा आउँदा आफूले बुन्दै गरेको एउटा मात्रै तान लिएर आएकी थिइन् । सारीको माग बजारमा राम्रो हुन थालेपछि अरू दिदीबहिनीहरूले पनि सिकाइमाग्न थाले । त्यसपछि उनले ४ वटा तान बनाएर सिकाइन् ।

विस्तारै तान बुन्ने महिलाहरू बढ्न थालेपछि उनीहरूले बुनेका कपडा बेच्नु पनि प¥यो । स्थानीय महिलालाई रोजगार पनि बनाउनुप¥यो भन्ने उद्देश्यले उनले २०७५ साल वैशाखबाट आफ्नै घर इटहरीमा निर्मला घरेलु उद्योग सुरु गरिन् । उनी भन्छिन्, ‘गर्नसके नेपालमा साना घरेलु उद्योगबाट पनि राम्रो आम्दानी हुने रहेछ ।’ तर सरकारले नेपालमा नै केही गर्छु भन्ने महिलाहरूलाई कुनै प्रकारको सीपमूलक तालिमका लागि लगानी गर्न नसक्दा धेरै युवा र महिलाहरू विदेश जाने गरेको उनी बताउँछिन्।

अहिले खड्काले २५ वटा तान राखेर २० जना महिलालाई रोजगारी दिँदै आएकी छन् भने बाँकी ५ वटा तान आफै बुन्ने गरेकोे बताउँछिन् । गर्नसके, खट्नसके नेपालमै थोरै लगानीले पनि राम्रो आम्दानी हुने उनको भनाइ छ । ढाकाको पोसाकलाई अहिले नेपालको राष्ट्रिय पोसाकको रूपमा पनि धेरैले लिने गरेको उनी बताउँछिन्। विदेशमा बस्ने अधिकांश नेपालीहरूले ढाकाको कपडा लगाउँदा विदेशीहरूले समेत नेपाली भनेर चिन्ने गरेको भन्दै विदेशमा बस्नेहरूले धेरै ढाकाको सारीहरू मगाउने गरेको उनी बताउँछिन् ।

IMG-20240127-WA0009(1) 1

पछिल्लो समय मेसिनले बुनेको ढाकाको सामग्रीहरूले गर्दा हातले बुनेको कपडाहरूमा केही असर परे पनि बुझ्ने र सामान चिन्नेले हातले नै बुनेको कपडा खोज्ने गरेको उनको भनाइ छ । हातले बुनेको ढाकाको सारी दह्रो, टिकाउ र बाक्लो हुने भएकाले अहिले पनि सामान चिन्नेले खोजी–खोजी घरमै आउने गरेको उनी बताउँछिन् ।

उनको कारखानामा बनेका सारी धरानको पूर्वेली ढाकाटोपी ट्रेडर्समा आउने गरेका छन् । त्यस्तै विराटनगर, धनकुटा उदयपुर, भोजपुर, काठमाडौंलगायत हङ्कङ, युके, अष्ट्रेलियासम्म पुग्ने गरेको उनको भनाइ छ ।

ढाकाको तान बुन्न निकै कठिन हुने भएकाले जोसुकैले बुन्न नसक्ने उनको भनाइ छ । दुःख पाएका र एकल महिलाहरूले मात्रै यो काम दिगोरूपले गर्ने गरेको उनले बताइन् । नेपालमा केही गर्छु भन्ने महिलाहरूको लागि स्थानीय सरकारले कुनै किसिमको सहयोग नगर्दा महिलाहरू सक्षम हुँदाहुँदै पनि नेपालमा व्यवसाय गर्ने अनुकूल वातावरण नमिलेको उनको गुनासो छ ।

नगरपालिका र वडा कार्यालयमा महिलाहरूको लागि सीपमूलक तालिमको लागि बजेटको माग गर्दा सुनुवाइ नहुने उनको भनाइ छ। अहिले रेशमी धागोबाट बुनेको सारीको बढी माग बढी हुने गरेको छ । राम्रो बजार पाए पनि नेपाल सरकारले धागोको राजस्व बढाएकाले धागोको मूल्य बढेका कारण कपडा पनि महँगो हुने उनले बताइन्। धागोको मूल्य बढेसँगै सारीको मूल्य बढेमा व्यापारीहरूलाई केही सहज हुने उनको भनाइ छ ।

पहिले–पहिले राई, लिम्बूलगायत किरात जातिहरूले मात्रै बढी प्रयोग गर्ने ढाकाको सारी अहिले भने क्षेत्री, बाहुनलगायत अन्य जातिले समेत बढी प्रयोग गर्न थालेपछि ढाकाको कपडाहरू निकै लोकप्रिय र सबैको रोजाइमा पर्दै गएकाले घरेलु उद्योगलाई सरकारले लगानी गर्नसके नेपालको उत्पादन विदेशमा समेत निर्यात हुने उनको भनाइ छ।