धरानका स्थानीय उत्पादन, कृषि उपज प्रवद्र्धन र आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ सुनसरी उद्योग वाणिज्य संघले ‘धरान एक्स्पो’ आयोजना गर्ने भएको छ । ‘धरान एक्स्पो’ नामकरण गरिएको कृषि, पर्यटन, कला–संस्कृति, शिक्षा, खेलकुद तथा औद्योगिक, व्यापार प्रदर्शनी आगामी फागुन ११ देखि २३ गतेसम्म आयोजना हुने छ । यो प्रदर्शनी संघले दोस्रो पटक आयोजना गर्न लागेको हो । 

‘एक्स्पो’ बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विजय श्रेष्ठले ‘धरान एक्स्पो’ ले धरानका व्यापारी, व्यवसायी, स्थानीय उद्यमीमा नयाँ उत्साह थप्ने र बजारमा आर्थिक चहलपहल ल्याउने विश्वास व्यक्त गरे । 

अध्यक्ष श्रेष्ठका अनुसार ‘एक्स्पो’ मा १५० वटा स्टल रहने छन् । ५ लाख जनाले ‘एक्स्पो’ को प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । ‘एक्स्पो’ मा स्थानीय उत्पादन बेसार, कालो बंगुर, तीनपाने, अदुवा, अम्लिसोलाई प्रवर्धन गर्दै स्थानीय आर्थिक गतिविधि बढाउन लक्षित हुने छ । स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने छ । ‘धरान एक्स्पो’ मा १६ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

संरचना निर्माण तीव्र

‘एक्स्पो’ का लागि आवश्यक संरचना निर्माणको तयारी तीव्र भइरहेको छ । एक्स्पोमा डोम ह्यांगरको प्रयोग गरेर स्टलहरू राखिनेछ । डोमभित्र संवेदनशील वस्तुहरूको करिब १ सय वटा स्टल हुनेछन् । बाहिर थप अन्य स्टलहरू हुनेछन् । डोममा स्टल राख्दा हावा, पानी, हुरी बतासले पनि कुनै नोक्सानी नहुने भएकोले सुरक्षित हुने स्टल व्यवस्थापन समितिका संयोजक विष्णु बरालले बताए ।

‘एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने छन् ।’ स्टल व्यवस्थापन समितिका संयोजक विष्णु बरालले भने, ‘एक्स्पोका बीच धरानमा खानेपानीको समस्या तत्काल समाधान गर्ने उपाय र साधन स्रोत जुटाउने विषयमा विशेष परामर्श गोष्ठी आयोजना गरिने छ ।’  

एक्स्पोका आकर्षण 

धरान–१६ स्थित धरान रंगशाला परिसरमा रहेको कबर्ड हलमा हुने ‘एक्स्पो’ मा सुनसरीका १२ स्थानीय तहका उत्पादनको प्रदर्शनीसँगै बिक्री–वितरण र कारोबार हुनेछ । बजार विस्तार र उपभोक्तामाझ स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्य लिइएको छ । 

‘धरान–डे’ मा स्टल नपाएर फर्केका हुम्ला, जुम्ला, पोखराका उत्पादनहरू मार्सी चामल दाल, संखुवासभाको भिर मौरी, अल्लोका सामग्रीलाई एक्स्पोमा स्टल उपलब्ध गराइने छ ।’ संघका अध्यक्ष श्रेष्ठले भने । 

एक्स्पो अवधिमा विभिन्न गोष्ठीहरू आयोजना हुनेछ । बेरोजगारहरूलाई स्वरोजगार बनाउन फागुन १३ गते स्वरोजगार गोष्ठी गरिने छ । गोष्ठीमा प्रत्येक वडाबाट एक महिला र एक पुरुषलाई सहभागी गराइनेछ । सानो लगानीमा व्यवसाय कसरी गर्ने र व्यापार, व्यवसाय कसरी अघि बढाउने भन्ने विषयमा गोष्ठीले प्रशिक्षण दिने बताइएको छ । धरानका होटल, ट्याम्पो, बस व्यवसायीलाई समेत समेटेर पर्यटन गोष्ठी गरिने छ । एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम हुनेछन् । सांस्कृतिक प्रतियोगितासमेत आयोजना गरिने छ । बिहानदेखि साँझ ४ बजेसम्म प्रवेश निःशुल्क रहने छ । साँझ ५ बजेदेखि भने प्रवेश टिकट दर १ सय रुपैयाँदेखि २०० रुपैयाँसम्म निर्धारण गरिएको छ । 

स्टल बुकिङ खुला 

प्रदेशको ऐतिहासिक सहर धरान र सुनसरी जिल्लाको समग्र व्यावसायिक प्रवर्धन गर्ने लक्ष्यसहित आयोजना हुने ‘एक्सपो’मा स्टल बुकिङ खुला गरिएको छ । 

धरानको आर्थिक गतिविधि चलायमान बनाउन, कोशी प्रदेशका उपभोक्तालाई स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारका उत्पादन सहज र सुपथ मूल्यमा एक्स्पोले उपलब्ध गराउने बताइएको छ । सुनसरी उद्योग वाणिज्य संघ आयोजक रहेको एक्स्पोमा विशेष सहयोगीका रुपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, उद्योग पर्यटन तथा वन मन्त्रालय कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रबन्ध केन्द्र वन तथा वातावरण मन्त्रालय रहेका छन् । 

प्रवर्धकमा जिल्ला समन्वय समिति सुनसरी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल पर्यटन बोर्ड र धरान उप–महानगरपालिका रहेका छन् । 

यसअघि २०७९ फागुन ११ गतेबाट १० दिनसम्म ‘एक्स्पो’ को आयोजना गरिएको थियो । 

एक्स्पोमा उत्पादनमुखी व्यापारी, व्यवसायीले लगानी गरेर निर्माण गरेको पुँजी धरानबाहिर लैजान नपाउने विषयमा बहससमेत भएको थियो । 

नेपाली स्रोत साधनलाई सामूहिक रुपमा सञ्चालन गर्दै प्रविधिमैत्री किसान, उद्यमी, व्यापारी पर्यटनको दिगो विकासमा लाग्न एक्स्पोले सन्देश दिएको थियो । धरानको लगानी पलायन हुन नदिन र उद्योगी व्यवसायीलाई स्थानीय उत्पादनको ब्राण्डिङमा लाग्न प्रेरित गरेको थियो ।