धरान । बच्चाहरूलाई प्लाष्टिकमा प्याक गरिएको ‘कटन क्यान्डी’ खुवाउँदै हुनुहुन्छ ? सावधान ! यसमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने अखाद्य रङ ‘रोडामाइन बी’ मिसाइएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सतर्क हुन अनुरोध गरेको छ ।

विभागले मातहतका डिभिजन कार्यालयहरूलाई पत्राचार गरी अनुगमन तथा निरीक्षण गर्न निर्देशन गरेको छ । यसै क्रममा सुनसरीको इटहरीमा अनुज्ञा पत्र (दर्ता नगरी) विना भारतीय नागरिकहरूले कोठा भाडामा लिई उत्पादन गरेको कटन क्यान्डी जफत गरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख सङ्गम दाहालले भने, ‘इटहरीको एउटा कलेजअगाडि बेच्दै गरेको भेटेपछि सोधपुछ गर्दा बीपी चोकको एउटा घरमा कोठा भाडामा लिई भारतीय नागरिकहरूले उत्पादन गरेको पाइयो । उत्पादन गरिएका २ सय ८१ पोका क्यान्डी प्रहरीको रोहवरमा नष्ट गरिएको छ ।’ उनका अनुसार रोडामाइन बी नामक अखाद्य रङ प्रयोग गरिएका खानेकुरा खाएमा कलेजोमा समस्या निम्त्याउनुका साथै क्यान्सरसमेत हुन्छ ।

विभागको निर्देशनअनुसार अहिले डिभिजन कार्यालयहरूले कटन क्यान्डी बनाउने उद्योगहरूमा अनुज्ञा पत्र लिए नलिएको साथै खाद्य वा अखाद्य रङको प्रयोग भए नभएको बारे अनुगमन थालेको छ । ‘हामीले त्यहाँ पनि लेबल नभएको रङ फेला पारेका थियौँ । सादा पेपरमा राखिएको थियो । अन्य हरियो र निलो रङ पनि भेट्यौँ’ उनले फोन सम्पर्कमा भने, ‘खाद्य रङ भए पनि तताउन मिल्दैन । बनाउँदा तताउनु पर्ने हुन्छ । मात्रा पनि नमिलाई हालेको भेटियो ।’ उनीहरूलाई अनुज्ञा पत्र लिएर लेबल लगाएर मात्रै बिक्री गर्न भनी निर्देशन दिएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधबार पत्रकारहरूसँगको अन्तरक्रियाको क्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विभागको पत्राचारअनुसार गरेको अनुगमनको क्रममा कटन क्यान्डी जफत गरी नष्ट गरेको बताए । ‘आजै मात्र २ सय ८१ पोका कटन क्यान्डी बरामद गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले नष्ट गरेको छ’ उनले भने, ‘नागरिकको स्वास्थ्यका हिसाबले संवेदनशील भएकाले नियमन गरिएको हो ।’

विभागले यही माघ ८ गते मातहतका कार्यालयहरूलाई निर्देशन दिँदै विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका कटन क्यान्डीलाई मात्रै बिक्री वितरण गर्न अनुमति दिन निर्देशन गरेको छ । ‘खुल्ला रूपमा बिक्रीवितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकालाई समेत नदिनुहुन सम्पूर्ण उपभोक्ता वर्गमा विभाग अनुरोध गर्दछ’–विभागले जारी गरेको सूचनामा उल्लेख छ ।