वराह व्यवस्थापन समन्वय तथा अनुगमन समितिको समन्वयमा सञ्चालक र पीडित पक्षबीचको समझदारीमा धरानस्थित वराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई ५ करोड बराबरको जग्गा वितरण गरिएको छ । 

दायित्व फिर्ता गर्ने क्रममा मङ्गलबार वराहक्षेत्र–३ हर्दियामा जम्मा १६ जनालाई जग्गा हस्तान्तरण गरिएको समन्वय समितिका संयोजक रोशन राईले जानकारी दिए । गत पुस २३ गते ८ कित्ता र गत आइतबार ८ कित्ता पास गरी जम्मा १६ जनालाई जग्गा हस्तान्तरण गरिएको हो । जम्मा ३५ कट्ठा १३ धुर जग्गा रहेकामा बचत तथा लगानीकर्तालाई हस्तान्तरण गर्ने योजना रहेको समन्वय समितिको भनाइ छ । 

हालसम्म कालाबन्जार, कानेपोखरी, उर्लाबारी, गछिया, इटहरी, इनरुवा, झुम्का, धरान, पानबारी, सतिशाले, केराबारीलगायतका जग्गा बचतकर्ता र लगानीकर्ताको इच्छाअनुसार १ सय २० बचत तथा लगानीकर्ताहरुको रकम बराबरको जग्गा फिर्ता गरेको सहकारी सञ्चालक मानबहादुर बिकले जानकारी दिए । ‘आज फिल्डमै पुगेर जग्गाको धनीपुर्जा वितरण गरिएको हो ।’ उनले भने ।  

आगामी माघ महिनाभित्रमा १० करोडको दायित्व फिर्ता गर्ने सहकारीको योजना रहेको छ । ‘साना बचतकर्ता ४ हजार ७ सय ९८ जनालाई नगदै भुक्तानी गरिरहेका छौं ।’ सञ्चालक बिकले भने । 

वराह व्यवस्थापन समन्वय तथा अनुगमन समितिको समन्वयमा सञ्चालक र पीडित पक्षबीचको समझदारीमा लगानीबापत जग्गा प्रदान गरिएको संयोजन समन्वय समितिका सदस्य नारायण सेञ्चुरीले जानकारी दिए ।

तरलाताबाट सिर्जित समस्या !

तरलता अभावका कारण बचत फिर्ता गर्न समस्यामा परेपछि र संस्थामा बचत जम्मा हुन छाडेपछि रकम फिर्ता गर्नुपर्ने माग बढेपछि झन–झन कठिनाइ बेहोर्नुपरेको सहकारी सञ्चालक बिकले बताए ।

उनले यस संस्थाका शेयर सदस्य–बचतकर्ता तथा लगानीकर्ताहरुको लगानी बचत सुरक्षित गर्न र संस्थालाई व्यवस्थित पारी अघि बढाउन ब्रिटिस, भारतीय तथा अन्य भूपू सैनिकहरु एकजुट भई शेयर सदस्य बचतकर्ता एवम् लगानीकर्ताहरुको हितका लागि लागिपरेको जानकारी दिए । 

baraha sahakari blastkhabar

बराह व्यवस्थापन समन्वय तथा अनुगमन समिति, सञ्चालक र पीडितपक्ष एक भएर काम गर्ने क्रममा सहकारीले केही प्रगति गर्न सकेको उनले बताए । ‘रेस्क्यु फण्डमा थप लगानी बचत भूपू सैनिक आबद्ध संस्थाको संयुक्त खाता हिमालय बैङ्कमा खोलेर २ सय २७ जनाबाट ६१ लाख रुपैयाँ जम्मा गरिएको सञ्चालक बिकले बताए । उनले गत साउन १ गतेदेखि हालसम्म २ सय ९८ जना शेयर सदस्य थप भई शेयर पूँजी १४ लाख २९ हजार जम्मा भएको बताए । 

आयको आशा !

बराह सहकारीले गत कार्तिकदेखि यातायात सेवा सञ्चालन गरी  १० लाख १८ हजार आम्दानी गरेको जनाएको छ । सहकारीको कारोबार बन्द भएपछि र सञ्चालकको सम्पत्ति रोक्का भएपछि तनाव बेहोरेको सहकारीले समन्वय समितिको पहलमा ऋण चुकाउँदै जाने र आम्दानी वृद्धि गर्दै लाने विश्वास गरेको छ । 

काठमाडौ–धरान सञ्चालित ३ वटा हायस गाडी सञ्चालनबाट गत कात्तिक ३ गतेदेखि पुस १३ गतेभित्रको २ महिना १० दिनको अवधिमा सहकारीले आम्दानी गरेको जनाएको छ । सञ्चालक बिकले आफ्नो खातामा १ हजार भन्दा कम मौज्दात रहेका ४ हजार ७ सय ९२ जनालाई  पूर्ण भुक्तानी गर्न सुरु गरिएको बताए ।

‘सहकारीले लामो समयदेखि भाका नाघेका ऋणीहरुबाट पाउनुपर्ने रकम असुलउपर गर्न लिलाम प्रक्रिया सुरु गरेको छ,’ सञ्चालक बिकले भने,‘सहकारीको नियमित साधारण सभा गर्दै आएकोमा २०८० पौष २१ गते १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ, पौष १५ गतेसम्म ५ हजार २ सय ७० सदस्यबाट १० करोड २३ लाख ३४ हजार ४ सय रुपैयाँ सङ्कलन भएको छ ।’

बराह सहकारीमा २०८० असार मसान्तसम्म ४ हजार ९ सय ७२ जनाको शेयर रकम १० करोड ९ लाख ५ हजार ४ सय रुपैयाँ रहेको तथ्याङ्क छ । बचत रकम ६५ करोड ५१ लाख ४६ हजार ७ सय ४३ रुपैयाँ ४३ पैसा रहेको छ भने मौज्दात देखिएको ऋण लगानी ७१ करोड ८५ लाख ६२ हजार ९९ रुपैयाँ ९७ पैसा देखिएको छ ।