धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ त्रिवेणी खेल मैदान मुढेबासमा बिहीबार सम्पन्न पाँचौँ चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधि ६ नम्बर वडाले जितेको छ ।

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा ६ ले १ नम्बर वडालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको छ । विजेता ६ ले नगद ६५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ । उपविजेताले नगद ३५ हजार रुपैयाँसहित मेडल र प्रमाण–पत्र पायो । माघे सङ्क्रान्ति पर्वको अवसरमा प्रतियोगिता गरिएको हो ।

यस्तै महिलातर्फको फुटबलमा चौबिसे–२ ले ५ नं.लाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । विजेता टोलीले आधा तोला सुन, मेडल, ट्रफी र प्रमाण–पत्र हात पार्न सफल भएको छ । उपविजेता ५ ले चार आना सुन, मेडल, प्रमाण–पत्र पाएको छ ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि प्रदेश सदस्य निरेन राई, चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङलगायतले ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरेका थिए । पालिकाले गाउँ–गाउँ र वडा–वडामा महिला तथा पुरुष फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

चौबिसे गाउँपालिकाअन्तर्गतको खेलकुद विकास समितिको आयोजनामा २ नं. मुढेबासस्थित त्रिवेणी युवा क्लबको स्थानीय व्यवस्थापनमा प्रतियोगिता भएको खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर खजुमले जानकारी दिए ।