बेलका- वराहक्षेत्र कोसी नदी किनार आसपासका होटल,लज तथा रेस्टुराँहरुमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ ।
सप्तकोसी नदी आसपास र चतरा क्षेत्रमा रहेका सरोवर रेस्ट्रो, चतरा गेस्ट हाउस, वन्डरहिल इन, बेलकाबीच रिसोर्ट, कोशी प्यालेसलगायतका होटलले लज तथा रेस्टुराँको समेत सुविधा दिइरहेका छन् । यी होटल, रिसोर्टमा हाल 'फुल एकुपेन्सी' रहेको सरोवर रेस्ट्रोका संचालक रोशन श्रेष्ठले जानकारी दिए ।

बेलका बिच रिसोर्टमा विगत एक महिनादेखि 'हण्ड्रेड पर्सेन्ट एकुपेन्सी' रहेको सन्चालक रमण भट्टराईले जानकारी दिए । आजसमेत १५० जनाको प्याकेजमा आतिथ्यता गरिरहेको उनले सुनाए ।
स्थानीय मनोरम वातावरण, कोसी नदीको सुन्दर दृश्य, कोसीमा चल्ने जेटबोट र परिकारमा कोसीका माछाको स्वादले समेत आन्तरिक पर्यटकलाई आकर्षित गर्ने रिसोर्ट सन्चालक भट्टराई बताउँछन् ।

Sarowar kharkhola

चतरा खारखोलास्थित सरोवर रेस्ट्रोमा जम्मा ३० जना क्षमता भएका ११ वटा कोठा सन्चालनमा छन् । काठमाण्डौदेखि पाथीभरा हुँदै वराहक्षेत्र दर्शन गर्न आउने र जाने ट्रान्जिटका रुपमा चतरा क्षेत्र विकास हुँदै जाँदा यहाँका होटल लज व्यस्त हुने गरेको सन्चालक रोशन श्रेष्ठ बताउँछन् ।

'रेस्ट्रो सन्चालनका केही महिना समस्या भए पनि हाल दैनिक एकुपेन्सी राम्रो छ,' सन्चालक श्रेष्ठले भने, 'हामी हाम्रा अतिथिलाई राम्रो सत्कारसहित स्थानीय मौलिक खानाका परिकार पस्कन्छौं, हाम्रो इन्डस्ट्रीको महत्त्वपूर्ण विषय नै आतिथ्यता भएकाले यसलाई कायम राख्ने प्रयत्न गरेका छौं ।'
सरोवर रेस्ट्रोले आवासको व्यवस्थासँगै थकाली खाना, कोसीका माछा, तासका आइटमलगायत भेराइटी पस्कँदै आएको बताउँछन् ।

भर्खरै प्रिओपनिङ भई सन्चालनमा आएको बेलका ८ कोठुस्थित होटल कोशी प्यालेसमा १३ वटा सुविधा सम्पन्न कोठा छन् । सन्चालन भएको साता दिन नबित्दै सबै कोठा व्यस्त हुँदै आएका छन् । प्रतिदिन कोठाको मूल्य २ हजार रुपैयाँदेखि सात हजार रुपैयाँसम्म यहाँका होटलले लिने गरेका छन् ।

Chatara sarowar resto

होटल लजका अलावा कोसी पुल क्षेत्रमा ग्यालेक्सी, चुला, बार्दली, चिल्ली, ज्याक इन, रंगमहल, पलेटीलगायतका दर्जनौं रेस्टुराँ सन्चालनमा छन् । कोसी किनारमा द कोशी रिभर बिच रिसोर्टलगायत होटल रेस्टुराँसमेत सन्चालनको तयारीमा छन् ।

आतिथ्यताका लागि होटलको अझै अभाव
चतराको खारखोलास्थित सरोवर रेस्टोका सन्चालक रोशन श्रेष्ठले गत महिनामात्रै आगन्तुक १० वटा समूहलाई फर्काउनु परेको बताए ।

'महिना दिनमा यस्तै आठदस ग्रुपलाई फर्काउन परिरहेको छ,' सन्चालक श्रेष्ठले भने, '२ सय जना आगन्तुक एकै पटक आउँदा राख्न सक्ने क्षमता छैन ।' श्रेष्ठले आजमात्रै काठमाडौबाट आएका दस जनाको टोलीलाई धरान पठाउनु परेको बताए ।

चतरा र बेलका आसपासमा अझै केही दर्जन सुविधा सम्पन्न होटल खोलिन आवश्यक रहेको श्रेष्ठ बताउँछन् । धार्मिक पर्यटनसँगै जल पर्यटन, साहसिक पर्यटन र पर्यापर्यटनलाई जोडेर बेलका र वराहक्षेत्र कोसी आसपासलाई विकास र प्रवर्धन गर्न सक्ने प्रसस्त आधार रहेको उनको भनाइ छ ।

'स्थानीय सरकारले यसतर्फ ध्यान दिन सके समृद्धिको आधार हस्पिटालिटी इन्डस्ट्री बन्न सक्छ, यहाँको पर्यटन बन्न सक्छ ।' श्रेष्ठले भने ।

Hotel koshi palace koshi pul

चतरा बजार बाइपास हुँदा व्यापारमा असर
वराहक्षेत्रको पुरानो व्यापारिक केन्द्र चतरा बजार मदन भण्डारी राजमार्गले बाइपास गरिदिंदा यहाँका बयरवन र चतराको मुख्य बजार ओझेलमा परेको व्यवसायीले गुनासो गरेका छन् ।

धरान, इटहरी हुँदै पूर्वी पहाड र उत्तर पश्चिम भारतदेखि  झापा हुँदै आउने पर्यटक खारखोला हुँदै सिधै कोसी पुल पुग्ने गरेका छन्  । चतरा बजार प्रवेश गर्ने सूचकसमेत नराखिंदा आगन्तुक चतरा बजार पुग्दैनन् ।

'चतरा बजार बाइपासका कारण मुख्य बजारका होटल, रेस्टुराँ शून्य छन्, स्थानीय व्यवसायी अमित भगतले भने, 'नयाँ चतराका रुपमा खारखोला र कोसी पुल विकास भइरहेको छ ।' केही दशकअघिको गुलजार चतरा बजार शून्य भएको व्यवसायी भगतको भनाइ छ ।