भद्रपुर । झापाको कनकाई नदी किनारमा लागेको माइ मेलामा नगरपालिकाको नियम उल्लङ्घन गर्दै ठेकेदारले लुट मच्चाएका छन् ।

कनकाई नगरपालिकाले सूचनामार्फत माइमेला सञ्चालनका लागि तोकिएको सवारी साधन पार्किङ् शुल्कभन्दा बढी रकम लिएका हुन् । पार्किङ गरेबापत नगरपालिकाले साइकलको हकमा २०, मोटरसाइकल ५०, कार, जिप, भेनलगायत साना सवारीमा १०० र ठूला सवारी साधनबापत २०० रुपैयाँ लिने गरी दररेट कायम गरेको थियो तर ठेकेदारले एक सयदेखि तीन सय रुपैयाँसम्म लिएको फेला परेको छ ।

स्कुटर तथा मोटरसाइकलबापत रसिद नम्बर २७१२ बाट १०० र रसिद नम्बर १२२० बाट कार, भेन जिपलगायत साना सवारीको ३०० रुपैयाँ लिएको रसिदमा उल्लेख छ । सो रसिदमा कुनै निकायको सही तथा छाप भने देखिएको छैन । नगरपालिकाले पुस २८ देखि माघ २ गतेसम्म ठेक्का लगाउन शिलबन्दी दरभाउ पत्रसम्बन्धी पुस २३ मा सूचना प्रकाशित गरेको थियो ।

नगरले १० लाख रुपैयाँमा नघट्ने गरी सूचना प्रकाशित गरे पनि भ्याटसहित अनुमानित २४ लाख रुपैयाँमा सम्झौता भएको कनकाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए । पालिकाले तोकिएको दररेटभन्दा बढी रकम लिएमा कारबाही हुने उनले बताए । कारबाही गर्ने विभाग फरक भएकोले कस्तो कारबाही हुन्छ भन्ने विषयमा ज्ञान नभएको उनले जनाए । बढी रकम लिएको विषयमा नगरपालिकासँग जानकारी लिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । तोकिएको दर रेटभन्दा बढी रकम लिनु गलत भएको उनले जानकारी दिए । जानकारी पाएपछि तत्काल नगरप्रमुखलाई सम्पर्क गर्दा समस्या समाधान भइसकेको जानकारी पाएको उनको भनाइ छ  ।

यो स्थानमा भक्तजनहरूको ठूलो भीड लाग्ने गरेको छ । माघे सङ्क्रान्तिका दिन कनकाई नदी किनारमा माई मेला लाग्ने गरेको छ । नदीको दुवैतर्फ कनकाई र शिवसताक्षी क्षेत्रमा मेला लाग्दै आएको छ । कोशी प्रदेशको चर्चित र ठूलो मेलामा भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् । मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिने स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ । त्यसैले कनकार्ई नदीमा नुहाएर पूजाअर्चना गरे चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।