वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा विनियोजित रकमको ३१ दशमलव २९ प्रतिशतमात्र खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

वराहक्षेत्र नगरपालिकाको १३ औं नगर सभामा उपप्रमुख नन्दकुमारी सुनुवारले ०८० पौष २३ गतेसम्मको खर्चको स्थिति सार्वजनिक गरेकी हुन् ।

आर्थिक विकासतर्फ विनियोजित रकम ४ करोड २३ लाख ९ हजार रुपैयाँ मध्ये १३.४५ प्रतिशत खर्च भएको छ । सामाजिक विकासतर्फ विनियोजित ४९ करोड ८३ लाख ५२ हजार ६ सय रुपैयाँ मध्ये ३७.६८ प्रतिशत, पूर्वाधार विकासतर्फ विनियोजित २३ करोड २१ लाख ३५ हजार ६ सय ४२ रुपैयाँ मध्ये ९.४४ प्रतिशत,  सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा विनियोजित २ करोड ५० लाख ३० हजार रुपैयाँ मध्ये २२.७२ प्रतिशत र कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्रमा विनियोजित १८ करोड ३७ लाख ७२ हजार विनियोजित रकममध्ये ४६.८१ प्रतिशत खर्च गरेको छ ।

चालु आवमा नगरले ९९ करोड ७ लाख ४२ हजार २ सय ९२ रुपैयाँ रकम विनियोजन गरेको थियो । ०८० पुस २३ सम्म आयतर्फको यथार्थ विवरण ४४ करोड २८ लाख ५२ हजार ८ सय ३१ रुपैयाँ ४७ पैसा रहेको विवरण सार्वजनिक गरेको छ ।

नगर सभामा चालु भैपरी शीर्षकअन्तर्गत ४२ लाख रुपैयाँ बजेट रकमान्तर गरिएको विवरण प्रस्तुत गरिएको छ । रकमान्तर भएका शीर्षकमा विविध खर्चतर्फ १५ लाख रुपैयाँ, इन्धन्तर्फ १५ लाख रुपैयाँ, कार्यक्रम खर्चतर्फ ७ लाख रुपैयाँ र भ्रमण खर्चतर्फ ५ लाख रुपैयाँ बजेट थप गरिएको छ ।

नगरको पुँजीगततर्फ (आन्तरिक स्रोततर्फको समपुरक कोषबाट) १ करोड ९२ लाख ४० हजार रुपैयाँ स्रोत मिलान गर्नुपर्ने विवरण सार्वजनिक गरेको छ ।

Barahakshetra Municipality Nagar sabha

तेह्रौं नगर सभामा पुरक बजेट वक्तव्य पेश गर्दै उपप्रमुख सुनुवारले नगर विकासमा देखिएका समस्या, चुनौती र अवसर प्रस्तुत गरेकी थिइन् ।  उपप्रमुख सुनुवारले उपलब्ध सीमित स्रोत साधनबाट बराहक्षेत्र नगरवासीका असीमित चाहाना र आकांक्षालाई सन्तुलित रुपमा सम्बोधन गर्न नसक्नु नगरपालिकाको प्रमुख चुनौती रहेको बताइन् । उनले स्थानीय तहको सहभागितात्मक योजना तर्जुमा प्रक्रियाको विषयमा तल्लो तहसम्म प्रभावकारी तवरले जानकारी पुर्याउन केही कठिनाइ रहेको बताइन् ।

नगर सभामा उपप्रमुख सुनुवारले  स्थानीय तहसँग मेल खाने ऐन, नियम र नीति अभाव हुनु, विकासको गतिविधिमा संलग्न निकायबीच प्रभावकारी समन्वयको कमिले एकीकृत रुपमा विकास गर्न नसक्नु, आयोजनाको प्राथमीकरणमा एकरुपता हुन नसकी योजनाहरुको संख्याको उल्लेख्यीय वृद्धि हुनु, विकास निर्माणका क्रियाकलापम निजी क्षेत्रको सहभागिता न्यून रहनुलगायतका चुनौती प्रस्तुत गरेकी थिइन् ।

उपप्रमुख सुनुवारले नगरका विकासका सम्भावना उल्लेख गर्दै सकारात्मक पक्ष रहेको विवरण प्रस्तुत गरिन् । स्रोत र वनक्षेत्रको उपलब्धताको कारण कृषि तथा पशुपालन क्षेत्रको विकास एवं व्यवसायीकरणको प्रचुर सम्भावना रहेको, वन, जङ्गल तथा जडिबुटी जन्य गैरकाष्ठ वन पैदावारको राम्रो सम्भावना रहेको, खाद्यान्न, तरकारी तथा फलफूल खेतीका लागि उपयुक्त भौगोलिक स्थिति, हावापानी र माटो रहेको उल्लेख गरिन् ।

वराहक्षेत्र नगरपालिका: वित्तीय व्यवस्थापनतर्फ आन्तरिक आयमा भारी गिरावट, अनुमानित आय उठाउन सकेन

Barahakshetra Mun

नगर सभामा सभाध्यक्ष रमेश कार्कीले आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक सक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा नगर प्रमुख कार्कीले हालसम्म सोचेजस्तो उल्लेखीय प्रगति नदेखिएको उल्लेख गरेका छन् ।

'स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारको नदीजन्य पदार्थको उत्खनन तथा अन्य स्थानीय कर सम्बन्धी बाझिएको ऐन, कानुन तथा नगर क्षेत्र भित्र रहेका आन्तरिक आयमा देखिएको ह्रासको कारणबाट नगरको विकासमा देखिएको नकरात्मक असरका कारण हालसम्म सोचेजस्तो उल्लेखनिय प्रगति नदेखिएको व्यहोरा जानकारी गराउँदछु ।' नगर प्रमुखको प्रतिवेदनमा भनिएको छ ।

वित्तीय व्यवस्थापनतर्फ आन्तरिक आयमा भारी गिरावट आएको प्रतिवेदन पेस्ग गर्दै नगर प्रमुख कार्कीले अनुमान गरिएको आन्तरिक आय ०८० पौष २० गतेसम्म २८ प्रतिशत मात्र उठ्न सकेको जानकारी गराए ।

प्रतिवेदनमा 'नगरपालिकाले अनुमान गरेको बजेट हालसम्म विभिन्न कारणले पूरा हुने विषयमा कठिनाइ उत्पन्न भएको हुँदा पुरक सभामार्फत नगरका थप नयाँ योजनाहरु समावेश गर्न नसकिएको नगर प्रमुख कार्कीले बताए ।

नगर सभामा सम्मान
नगर सभाले स्थानीय कवि, कलाकार र खेलाडीलाई सम्मान गरेको छ ।

Barahakshetra nagarsabha

सम्मानित हुनेहरुमा कवितर्फ प्रकाश दिप्साली राई र छविना लुङ्गेली मगर, कलाकारतर्फ बाल गायक राजेश परियार र खेलाडीतर्फ सितेरियो करातेकी राष्ट्रिय खेलाडी आयुषा प्रधान रहेका छन् ।