सुनसरीको दुहबी नगरपालिका-८ स्थित मारुती ग्यास उद्योगलाई ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ । मारुतीले उत्पादन गर्ने सुविधा ग्यासमा कम तौल भेटिएपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सो बराबरको जरिवाना गरेको हो ।

नापतौल कार्यालयले केही दिनअगाडि अनुगमनको क्रममा भरिएको सिलप्याक सुविधाको सिलिण्डर कम तौल भेटिएको थियो। उद्योगमा निरीक्षणको क्रममा ९८ वटा सिलप्याक सुविधा ग्यासको सिलिण्डर चेकजाँच गर्दा ६० वटा सिलिन्डरमा कम तौल भेटिएको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाले जानकारी दिए ।

उद्योगले बजार पठाउने तयारी गरेको सिलप्याक सिलिण्डर परीक्षण गर्दा सुविधा ग्यासले उपभोक्तामाथि ठगी गरिरहेको पाइएपछि स्ट्याण्डर्ड नाप र तौल ऐनअनुसार जरिवाना गरिएको उनले बताए ।

अनुगमनको क्रममा सुविधा ग्यासमा ६० वटा सिलिण्डरमा २४ ग्राम कम तौल भएको भेटिएका थियो । सिलप्याक सिलिण्डरमा १४.२०० किलोग्राम ग्यास हुनुपर्ने हो। तर, सुविधा ग्यासको सिलिण्डरमा १४.१७६ किलोग्राम मात्र ग्यास रहेको थियो ।

यसअघि पनि विराटनगरमा सुविधा ग्यासले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको सिलिण्डर झण्डै एक किलोग्राम कम तौलको भेटिएको थियो । उद्योगले बिक्रीका लागि विराटनगर पठाएको सिलिण्डर चेकजाँच गर्दा तौल नपुगेको पाइएको थियो । सिलप्याक सिलिण्डरमा तौल नपुग्नु र खालीमा लेदो भेटिनुले उपभोक्तामाथि ठगी भइरहेको प्रष्ट हुने गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले जनाएको छ ।