किरात नयाँ वर्ष ५०८४ को प्रारम्भको अवसरमा धरानमा 'यले दोङ ओपन बास्केटबल प्रतियोगिता' आयोजना गरिने भएको छ ।

धरान बास्केटबल संघको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा आगामी पुस २८ गते तेस्रो यले दोङ थ्री वाइ थ्री खुला महिला/पुरुष बास्केटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा धरानसँगै आसपासका जिल्ला तथा क्षेत्रबाट करिब दुई दर्जन टिमले सहभागिता जनाउने तय भएको छ ।
प्रतियोगिताका महिला/पुरुष विजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी अवार्ड विजेताले नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने  सङ्घका सुनसरी अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । 

विगत दुई वर्ष अघिदेखि किरात नयाँ वर्षको अवसरमा बास्केटबल प्रतियोगिताको आयोजना हुँदै आइरहेको छ । पहिलो संस्करण किराया सुनसरीले आयोजना गरेको थियो भने दोस्रो संस्करणमा भने धरान बास्केटबल संघले अन्तर कलेज महिला बास्केटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

किरात नयाँ वर्षलाई थप भव्य बनाउन यस वर्षदेखि भने खुल्ला महिला पुरुष बास्केटबल प्रतियोगिताको आयोजना गरिएको बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । प्रतियोगिताले  युवाहरुमा  धार्मिक, सांस्कृतिक अपनत्व, परम्परा हस्तान्तरणसँगै बास्केटबल खेलको विकासमा सहयोग पुग्ने विश्वास गरिएको प्रशिक्षक राईले बताए ।

किरात नयाँ वर्ष ५०८४ लाई भव्यताका साथ स्वागत गर्दै  आयोजित प्रतियोगिता पुस २८ गते धरानको भानुचोकमा हुनेछ । प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटबल संघको रहने छ । माघ १ गतेलाई किरातीहरुले किरात संवत (नयाँ वर्ष ) यले दोङको रुपमा मान्दै आइरहेको छन् ।