धरानमा पनि ११ र १४ सिट क्षमताको विद्युतीय गाडी सार्वजनिक गरिएको छ ।

सार्वजनिक यातायात प्रबुद्ध समूह नेपालको आयोजनामा बुधबार धरानमा आयोजना भएको कार्यक्रममा अग्रज यातायात व्यवसायी हीरा उदासले गाडीको उद्घाटन गरे। विशाल ग्रुपले भित्र्याएको 'एसआरएम इभी नामक यात्रुबाहक गाडीहरू सार्वजनिक गरिएको हो।

धरानको लागि आधिकारिक बिक्रेता सृजना मोटर्स प्रा.लि. रहेको छ। त्यसक्रममा १९ वटा गाडीहरू बुक गरिएको प्रालिका सञ्चालक दिपेन चौधरीले जानकारी दिए।

वातावरणमैत्री, सुरक्षित र आरामदायी यात्राको लागि एकदमै राम्रो रहेको विशाल ग्रुपका प्रमुख व्यवस्थापक ज्ञानप्रसाद शर्माले जानकारी दिए। उनले इन्धनको खपतसँगै गुणस्तरीय रहेको जानकारी दिए । उनका अनुसार ४१ दशमलब ८६ किलोबाट आवर्स क्षमता रहेको छ। 'फुल चार्ज हुँदा ३ सय किलोमिटरसम्म गुड्छ । ४५ मिनेटमा चार्ज हुन्छ' उनले भने, 'स्पिड क्षमता पनि प्रतिघण्टा १ सय किलोमिटर रहेको छ ।'

गाडी सार्वजनिकीकरणसँगै 'वर्तमान अवस्थामा विद्युतीय गाडीको प्रवेश र चुनौती, राष्ट्रिय हितमा विद्युतीय गाडी या इन्धन गाडी' विषयक अन्तरक्रिया पनि गरिएको थियो। काठमाडौंस्थित पीसीएनपीएल-एमआरएम (इभी) को प्रायोजन तथा सृजना मोटर्स प्रा लि को सह-प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रदेश सासद् निरन राई, यातायात व्यवसायी सरोज श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठलगायतले अबको सम्भावना नै विद्युतीय गाडी रहेको बताएका थिए। विश्वमा इन्धनको मूल्य दिन प्रतिदिन महंगो हुदै गएको । सन्दर्भमा पनि विद्युतीय गाडीहरूको सम्भावना भएको उनीहरूले बताएका थिए। तर, गाडीको गुणस्तर तथा किफायतको विषयमा के कस्तो रहेको छ भन्ने जिज्ञासा राखेका थिए ।

प्रा. लि.का सञ्चालक चौधरीले ११ सिटे र १४ सिटे क्षमताको यात्रुवाहक गाडीहरू आइपुगेको बताए । अब चाँडै नै अन्य गाडीहरू पनि आउन लागेको बताए। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख सुभाष केसी, धरान-१५ का वडाध्यक्ष नरेश इवारमलगायतको उपस्थिति रहेको थियो।