रामधुनी नगरपालिकामा पर्ने कुमारखतको चारकोसे वन क्षेत्रबाट केही महिनायता सखुवाको काँचो रुख कटान गरी चोरी तस्करी गर्ने क्रम बढेको छ। केही स्थानमा रुख कटान गरी केही भाग चिरानसमेत गरी लगेको अवस्थामा भेटिएको छ ।

यही बीचमा सुनसरीको रामधुनी नगरपालिकास्थित कुमारखत सव–डिभिजन वन कार्यालयले पुस २२ गते राति एउटा महिन्द्रा बोलेरोसहित चार थान सखुवाको गोलिया नियन्त्रणमा लियो । त्यसको अघिल्लो राति रामधुनी नगरपालिका वडा नम्बर –६ को जङ्गल क्षेत्रबाटै २२ वर्षीय सितल राजधामी पक्राउ परे गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालयका पदाधिकारीहरूले ती युवालाई पक्राउ गरेका थिए ।

 शङ्कास्पद अवस्थामा रातको समयमा पक्राउ परेपछि भोलिपल्ट ११ बजेतिर गोलियासहित बोलेरो नियन्त्रणमा लिइयो । ती युवालाई सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी डिभिजन वन कार्यालयले अनुसन्धान अगाडि बढाएको छ।तर, कुमारखत सव–डिभिजन वन कार्यालयको क्षेत्राधिकारमा रहेको राष्ट्रिय वनबाट ५० मिटरको फरकमा दुईवटा सखुवाको काँचो रुख काटिएको छ ।

करिब एक महिनाको बीचमा काटिएको झैँ लाग्ने ती रुखहरू ठूलो समूहले नै चोरीतस्करी गरेको देखिन्छ । एउटा रुखको गोलाइ करिब नौ फिट छ भने अर्को रुखको गोलाइ करिब ७ फिटको छ । कटान गरी फेदतर्फको केही भाग सोही स्थानमा कटान गरी चोरीतस्करी गरेको देखिएको छ । कुमारखत सव–डिभिजन वन कार्यालयले बरामद गरेको गोलिया सखुुवा भने अर्कै स्थानको हो । कुमारखत सामुदायिक वनको संरक्षित क्षेत्रको रूपमा रहेको राष्ट्रिय वनमा रुखहरू कटान गरिएको स्थानीयबासी बताउँछन् । 

तर, कुमारखत सामुदायिक वन समूहका अध्यक्ष विक्रम राईले समूहको संरक्षित क्षेत्रमा नभई राष्ट्रिय वनमै पर्ने बताए। ‘संरक्षित क्षेत्रमा पर्दैन । साँधसिमाना भएकाले रेखदेख गरिदिनेसम्म होला । चोरी तस्करी भएकाले वनलाई सूचना गरिदिएका छौँ’–उनले फोनसम्पर्कमा भने। स्थानीयका अनुसार वनका पदाधिकारीमध्ये कसै न कसैको संलग्नतामै चोरी तस्करी भइरहेको हुनसक्ने दाबी गरेका छन् । ‘यत्रोविधि काँचो, ठाडो रुख काट्दा पनि कहीँ वनका पदाधिकारीलाई थाहा नहुने कुरा हो र ?’ नाम नछाप्ने सर्तमा एक स्थानीयबासीले भने, ‘कसै न कसैको संलग्नताबाटै यस्तो भइरहेको छ ।’ तर, यहीबीचमा को.१ ज १८५२ नम्बरको महिन्द्राको बोलेरोसहित चारवटा गोलिया बरामद भएको छ।

उक्त गोलिया ५२ दशमलव ७९ क्युविक फिट रहेको कुमारखत सव–डिभिजन वन कार्यालयका डिभिजन अधिकृत शिवकुमार विश्वकर्मा बताउँछन्। उनका अनुसार प्रदेश १–०२–०४८ प ९२७३ नम्बरको पल्सर मोटरसाइकल पनि बरामद भएको छ । शङ्कास्पद रूपमा रातको समयमा जङ्गल क्षेत्रबाटै रामधुनी–६ का सितल राजधामी पक्राउ परेको उनले जानकारी दिए। उनले अन्यत्र पनि चोरी तस्करी भएको सुन्नमा आएको छ तर, सत्य के हो आफूलाई जानकारी नभएको खुलाए। स्थानीयको आरोपबारे उनले भने, ‘पब्लिकको आरोपमा पनि केही सत्यता हुनसक्छ।

वन कार्यालयका कोही कर्मचारीको ग्रिन सिग्लनमै भएको पनि हुनसक्छ। त्यसबारे अनुसन्धान हुँदैछ। अनुसन्धानपछि सबै खुल्ला ।’ उनले हालसम्म तीन स्थानबाट सखुवा काटिएको र केही गोलिया चोरी तस्करीसमेत भएकाले अब चाँडै नै अनुसन्धानबाट त्यो समूह खुल्ने दाबी गरे। धरानको खानेपानी बोरिङ गरिएको कुमारखत क्षेत्रको केही दक्षिणमा रुख ढालेर गोलिया बनाई चिरानसमेत गरेर लगिएको अवस्थामा भेटिएको छ। ७ फिट गोलाइ भएको रुखको फेददेखिको केही भाग लगिएको अवस्थामा छ भने ९ फिट गोलाइ भएको रुखको फेदको केही भाग (करिब ७ फिट) छाडेर चिरान गरी लगिएको अवस्थामा भेटिएको छ।