बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको वराहक्षेत्र १ चतरास्थित ज्योति बुद्ध महाबिहार वर्षौंदेखि जीर्ण अवस्थामा रहे पनि सम्बन्धित निकायको आँखा पर्न सकेको छैन ।

चतराको मुख्य बजार नजिक रहेको बुद्ध बिहार अतिक्रमणको चपेटामा पर्दासमेत संरक्षकको निष्क्रियता र संरक्षणमा उदासीनता देखिएका कारण पुरानो धार्मिक स्थल गुमनाम बन्न पुगेको छ ।

स्थानीय कवि मान बज्राचार्यको सकृयतामा २०४० सालमा निर्माण गरिएको बुद्ध बिहार बज्राचार्य वयोवृद्ध र अशक्त बन्दै गएपछि दैनिक पाठ र उपासनासमेत हुन छाडेको छ ।

Chatara Buddha Bihar

स्थानीय नेवार समुदायले पूजा उपासना गर्दै आएको बुद्ध बिहारको जीर्णोद्वार हुन सकेको छैन भने साधसीमाना अतिक्रमण बढ्दै गएको छ । धार्मिक क्षेत्रका रुपमा चर्चा पाएको चतराधाममा बहुधार्मिका आस्थाका केन्द्रहरु जीर्ण हुँदै जाँदा नियामक निकाय र स्थानीय सरकारले समेत आवश्यक बजेट विनियोजन गरी मर्मत सम्भारमा चासो देखाएको छैन ।

'बुद्धबिहार जीर्ण हुँदा आस्थावानहरुसमेत भक्तिका लागि जान छाडेको स्थानीय कल्पना शाक्य बताउँछिन्  । 'औंशी पूर्णेमा जान्छौं, सरसफाइ गर्छौं, जाने मान्छे छैन, हेरविचार गर्ने मान्छे छैन' स्थानीय शाक्यले भनिन्, 'कविजी वयोवृद्ध हुनु भयो, चासो गर्ने मान्छे भएनन् ।'
बुद्ध बिहार घेराबेरा र संरक्षणका लागि स्थानीय सरकारसँग बजेट माग गरे पनि यसपटक बजेटमा नपरेको स्थानीय महेश बज्राचार्यले बताए । 'कम्पाउण्ड बाल लगाउन बजेट माग गरेका थियौं, अर्को वर्ष हालिदिने आश्वासन पाएका छौँ,' बज्राचार्यले भने ।

Buddha bihar chatara

चतरामा लाखे नाच प्रदर्शनबाट सङ्कलित रकमले संरक्षणको प्रयास गरे पनि पर्याप्त नभएको बज्राचार्यले बताए । हाल नेवा देय दबू वराहक्षेत्रले संरक्षण गर्न केही प्रयास गरे पनि स्थानीय सरकारले चासो दिएको छैन भने संरक्षकसमेतले योजना नबनाउँदा बुद्धबिहार अलपत्र परेको छ ।  बयरवन ज्योतिबुद्ध महाबिहार नामाकरण गरिएको बुद्धबिहार थेरवादी बुद्ध बिहार हो ।