पाँचथर । पाँचथरको फिदिम–७ रानिटारमा सम्पन्न पाँचौँ फिदिम नगरकपको उपाधि पाँचथर फुटबल क्लबले जितेको छ ।

रानिटारमा सम्पन्न फाइनलमा झापाको शनिश्चरे एफसीलाई १–० गोलले हराउँदै पाँचथरले उपाधि जितेको हो । पाँचथरको जितमा क्याप्टेन रोशन आङ्देम्बेको पासलाई ‘हेड’मार्फत पारस कार्कीले गोल गरे । दोस्रो हाफको १६ औँ मिनेटमा कार्कीले गरेको गोल नै उपाधिको लागि निर्णायक बन्यो ।

झापाले सुरुवाती समयदेखि नै आक्रमक खेल प्रस्तुत गरे पनि महत्वपूर्ण अवसर सदुपयोग गर्न नसक्दा उपविजेतामै चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पाँचथरका मिराक खजुम भए । यस्तै, पाँचथरकै पारस कार्की म्यान अफ दी म्याच र सर्वाधिक गोलकर्ता झापाका प्रदीप बुढाथोकी भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पाँचथरका जमिन लक्सम बने ।

स्वतन्त्र फुटबल क्लब रानिटारले आयोजना गरेको पाँचौ संस्करणको उपाधि विजेता पाँचथर फुटबल क्लबले नगद एक लाख ८० हजार र उपविजेता झापाले नगद ९२ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ । प्रतियोगिताको विजेता टोलीलाई कार्यक्रमका प्रमुख अथितिसमेत रहेका फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले पुरस्कार प्रदान गरे ।