विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्माले पाँचौं संस्करणको एसबिएससी सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि जितेका हुन् ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. ले आयोजना गरेको प्रतियोगिताको फस्ट रनरअप उर्लाबारीस्थित सुनगाभा सेकेण्डरी स्कुलका छेसाङ तामाङ र उर्लाबारीको पार्लेन्स सेकेण्डरी स्कुलका प्रशुनेहा ठाकुर भए । उनीहरूले बराबरी अङ्क ल्याएपछि उनीहरूलाई फस्ट रनर अप घोषित गरेको हो । प्रतियोगिताको सेकेण्ड रनर अप पथरीस्थित एभरेष्ट स्कुलकी रोशनी गुरुङ घोषित भइन् । प्रतियोगिताको विजेताले नगद २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायकमा गायक साजन राई रहेका थिए । ‘आवाज तपाईंको, गौरव राष्ट्रको, देन निजी विद्यालयको’ भन्ने मूल नाराको साथ प्रत्येक वर्ष एसबिएससी सिङ्गिङ स्टार हुँदै आएको छ । प्रतियोगितामा विजेता हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा जिल्लाभरिबाट विभिन्न चरणको अडिसनबाट छनौट भएका विद्यार्थीहरू फाइनलमा पुगेका थिए ।

गत साउनदेखि अडिसन राउण्ड सुरु भएको थियो । झण्डै तीन सय विद्यार्थीहरूबाट विभिन्न चरणको अडिसन राउण्डबाट छनौट भएर फाइनलमा १३ जना पुगेको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । अडिसन राउण्ड विराटनगर, रङ्गेली, उर्लाबारी र विराटचोकमा भएको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए ।

आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम पुरी, अभिभावक सङ्घ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकी, पूर्व अध्यक्ष इन्द्र राईलगायतले बोलेका थिए ।