जिल्ला कारागार मोरङमा एक जना बन्दीको शङ्कास्पद मृत्यु भएको दुई सातापछि बल्ल शवको पोष्टमार्टम भएको छ । 

विराटनगरको कोशी अस्पतालमा पोष्टमार्टम गरेर मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शव परिवारको जिम्मा लगाइएको हो । भुजेलको शव दुई सातादेखि अस्पतालकै शवगृहमा थियो । कारागारका निमित्त जेलर तुलसीप्रसाद पौडेलले पोष्टमार्टमपछि दाहसंस्कारका लागि परिवारलाई शव बुझाइएको जानकारी दिए ।

दाहसंस्कारस्थलसम्म शव पु¥याउन कारागारले सहयोग गरेको र परिवारका सदस्यले अन्त्येष्टिसमेत गरिसकेको उनको भनाइ छ । स्वास्थ्यमा समस्या भएपछि भुजेललाई गत मङ्सिर २१ गते दिउँसो उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो । अस्पतालको आकस्मिक कक्षमा साँझ ५ बजेतिर उनको मृत्यु भएको पौडेलले बताए ।  भुजेलको मृत्यु रहस्यमय एवम् शङ्कास्पद रहेको भन्दै परिवारका सदस्यले बुझ्न अस्वीकार गरेपछि शवलाई अस्पतालमै राखिएको थियो । परिवारका सदस्यले कारागारभित्र चौकीदारको समूहले दिएको चरम् यातनाका कारण मृत्यु भएको भन्दै घटनाको छानबिन गरेर सत्य–तथ्य पत्ता लगाउन माग गरेका थिए ।

भुजेललाई कारागारभित्र कुटपिट गरेर मरणासन्न बनाएपछि उपचारका लागि अस्पताल ल्याइएको र मृत्यु भएको दाबी आफन्तको थियो । उनीहरूको दाबीअनुसार टाउकोमा कुटपिट गरेको चोट र रगत देखिएको थियो । मृतकका आफन्त र परिवारका सदस्यले दबाव दिएपछि स्थानीय प्रशासनले चार सदस्यीय समिति गठन गरेर घटनाको छानबिन गरिरहेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको संयोजकत्वमा गठित समितिमा कोशी अस्पतालका फिजिसियन डा. मनोज ठाकुर, इन्स्पेक्टर हेमराज ओली र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् ।

समितिलाई भुजेल मृत्यु प्रकरणको छानबिन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ । समितिका संयोजक साहका अनुसार मृतकको परिवारका सदस्य, मानव अधिकारकर्मी र जनप्रतिनिधिसमेतको रोहवरमा कारागार प्रशासन, सुरक्षाकर्मी, कैदीबन्दी, चिकित्सक सबैसँग लिखित बयान लिने काम सकिएको छ ।

भुजेलको ‘मेडिकल हिस्ट्री’ लगायत घटनासँग सम्बन्धित विभिन्न पाटोको अध्ययन गर्ने काम भइरहेको उनले बताए । पोष्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि छानबिन प्रतिवेदन बुझाइने जानकारी साहले दिए । कारागार प्रशासनले भने भुजेललाई पेट दुख्ने, सुख्खा खोकी लाग्ने र वान्ता हुनेलगायतका स्वास्थ्यसम्बन्धी पुराना समस्या रहेको बताउँदै आएको छ । छानबिन समितिका अनुसार भुजेलले विगतदेखि नै विभिन्न रोगका औषधि सेवन गरिरहेको पाइएको छ । स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि लगिएको र भुजेलको मृत्यु भएको निमित्त जेलर पौडेलले बताए ।

उनका अनुसार मृत्यु हुनुअघि चिकित्सकले पेटको ‘इन्डोस्कोपी’ का लागि सिफारिस गरेका थिए । तर, ‘इन्डोस्कोपी’ गर्न नपाउँदै मृत्यु भयो । त्यसको दुई दिनअघि पनि अस्पताल लगेर उपचार गरिएको पौडेलले बताए । अस्पतालले समेत स्वास्थ्य अवस्था जटिल रहेकाले थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई भनेको थियो । मृतकका भाइ नारायण भुजेलले छानबिन समितिको आग्रहमा पोष्टमार्टम गरेपछि शव बुझेर अन्त्येष्टि गरिएको बताए ।

पोष्टमार्टम रिपोर्ट नआइकन घटनाको कुनै निष्कर्ष आउँदैन भन्दै छानबिन समितिले सत्य–तथ्य पत्ता लगाउँछौँ भनेर विश्वास दिलाएपछि आफूहरू शव बुझ्न बाध्य भएको उनको भनाइ छ । उनले घटनाको यथार्थ बाहिर आउनेमा आशावादी रहेको बताए । तर, घटनाको प्रकृति हेर्दा कारागारभित्र दिइएको चरम् यातनाका कारण दाजुको मृत्यु भएको प्रष्ट हुने उनको भनाइ छ । जबरजस्ती करणी मुद्दाका थुनुवा भुजेल गत कात्तिक ६ गते पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

मुद्दाको किनारा नलाग्दै उनको मृत्यु भएको हो । कारागारभित्र यातना दिएर उनलाई मारिएको दाबी परिवारले गरेको छ । मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । कारागारभित्र कैदीबन्दीलाई चौकीदारको समूहले कुटपिट गर्ने, चरम् यातना दिने तथा असुली गर्ने गरेको घटना बारम्बार बाहिर आइरहेको छ ।