धरान । धरान–१५ सङ्गमचोकस्थित एक घरमा सञ्चालित किराना तथा खाजा पसलमा झ्यालको ग्रिल फुटाएर शुक्रबार मध्यराति चोरी भएको छ ।

यादव श्रेष्ठले सञ्चालनमा ल्याएको भोजपुरे खाजा घरमा नगद, सुन र किराना पसलका सामान गरी करिब तीन लाख रुपैयाँ बराबरको चोरी भएको हो । चोरी आरोपमा छिमेकी युवा सामानसहित पक्राउ परेका छन् भने अर्का युवा फरार छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार २० वर्षीय प्रजील लिम्बूलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लका अनुसार दुई लाख २० हजार रुपैयाँ नगदसहित केही सामान गरी तीन लाख रुपैयाँ बराबरको सामान चोरी भएको किटानी उजुरी आएको छ ।

प्रहरीमा दिएको उजुरीका आधारमा नगदसहित टुबोर्ग वियर, रिचार्ज र अन्य सामग्री बरामद गरिएको छ । आरोपित लिम्बूको घरबाट एउटा जेब्रा झोलामा प्याक गरेर राखिएको अवस्थामा किराना पसलका सामग्री बरामद भएको प्रहरीले जनाएको छ । शनिबार प्रहरीले ठाडो उजुरी दिएका थिए भने पक्राउ गरेपछि किटानी जाहेरी दिएको सञ्चालक यादव श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार आफूले दैनिक बचत गर्दै आएको करिब १७ सयका दरले दुई महिनाको बचत गरिएको रकम, रक्सीलाई तिर्नका लागि राखिएको ५० हजार र गल्लामा नगनिएको अवस्थाको करिब २०–२२ हजार रुपैयाँ नगद चोरी भएको छ । त्यस्तै ब्रान्डेड तथा नन्ब्रान्डेड रक्सीसहित किराना पसलका अधिकांश सामान चोरी गरिएको छ ।

झ्यालको सिसाको कब्जा तोडी चोरी गरेको पाइएको छ । ‘शुक्रबार राति पौने १२ बजेसम्म त हामी पनि थियौँ । हामी हिँडेपछि चोरी भएछ’ उनले भने, ‘झ्यालको तलको चुकुल चाहिँ लाग्दैनथ्यो, माथि चाहिँ लाग्थ्यो । त्यो तोडेछ । ग्रिलहरू तोडेछ । अनि भित्र पसेर नगद, सामान चोरी गरेको रहेछ ।’ चोरीमा संलग्न छिमेकी हुन् । उक्त युवा भने मोटरसाइकल धुने काम गर्दै आएका थिए ।

पसल रहेको घर स्थानीय समाजसेवी तथा पूर्व ब्रिटिस सेना प्रेम हुक्पा चोङ्बाङको हो । ‘हामी तल पनि भाडामै बस्थ्यौँ । त्यहाँ सुरक्षित नलाग्ने भएर सबै यतै ल्याएर राख्ने गरेका थियौँ । प्रेम मामाको घर भनेपछि सबै डराउँथे । ६ वर्ष भयो बस्न थालेको । बाहिर छाडेको सामान पनि हराउँदैनथ्यो । त्यही भएर सबै यहीँ राख्ने गथ्र्यौं’–उनले फोन सम्पर्कमा भने ।