विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शङ्कास्पद मृत्यु भएको घटनामा छानबिन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बुधबार गठन भएको हो ।

आफन्तले छानबिन समितिको माग गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानबिनका लागि समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरूमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई बन्दीको मृत्यु भएको घटनाका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएका छन् ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशरबहादुर भुजेलको गत बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटनालाई उनका परिवारले शङ्कास्पद भन्दै पोष्टमार्टम नगर्ने र घटनाको छानबिन हुनुपर्ने अडान लिएका थिए । भुजेललाई कारागारभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको र मृत्यु भएको आफन्तको आरोप छ ।

भुजेलको मृत्यु हुनुभन्दा एक घण्टाअगाडि ४ बजे मृतकको भान्जी एलिना भुजेललाई खबर गएको थियो । मृतकका आफन्तले शव हेर्दा कुटपिट गरेको देखिएको र टाउकोमा चोट तथा रगत देखिएको दाबी गरेका छन् । श्रीमान्लाई कारागारभित्रै कुटपिटपछि घाइते बनाएर अस्पताल ल्याएको आशङ्का भएको भुजेलकी श्रीमती रामकुमारी भुजेलले बताइन् । पोष्टमार्टम गरेपछि छानबिन ढिसमिस हुने अवस्था रहेको भन्दै आफन्तले कोशी अस्पतालको शवगृहमै शव राख्ने र छानबिन प्रतिवेदन आएपछि मात्रै पोष्टमार्टम गर्न दिने बताएका छन् ।

‘अहिलेसम्म शव बुझेका छैनौँ’–भान्जी एलिनाले भनिन् । कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पुर्याएको थियो । कोशीको आइसियू खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई अस्पतालले भनेको थियो । तर, उनको उपचारको लागि अरू अस्पताल नलगिँदा उनको मृत्यु भएको थियो ।

मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेका छन् । कारागार भित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरूले कुटपिट गर्ने गरेको गुनासो बेलाबेलामा आउने गरेको छ । यस्तै कैद भुक्तान गरी निस्किएकाहरूले दिएको जानकारीअनुसार मोरङ कारागारमा १० दिन (१, ११ र २१ गते) भित्र कारागारभित्रको खानपिन गरेको हिसाब (बण्डा) नमिलाए कैदी बन्दीहरूलाई चौकीदार र उनको निर्देशनमा नाइके, भाइ नाइकेहरूले यातना दिने गर्छन् । यातना दिएको कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु हुने गरेका घटनाहरू पनि छन् । आफन्तले भने पटक–पटक पिसाब लाग्यो भन्नु र पेट दुख्यो भन्दै शौचालय जानुमा भुजेलको गुप्ताङ्गमा कुटपिट भएको लक्षण भएको दाबी गरेका छन् ।

मगर गत कात्तिक ६ गते जबरजस्ती करणीमा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दायर गरेपछि मोरङ अदालतले मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशपछि मगर कात्तिक अन्तिम सातादेखि मोरङ कारागारमा थिए । मोरङ कारागारमा शुक्रबारसम्म  ९ सय ४७ पुरुष र  ९५ महिला गरी १ हजार ४२ जना कैदीबन्दी रहेका छन् ।