धरान । सुनसरीको इनरुवा–दुहबी सडक–खण्डबाट सोमबार नियन्त्रणमा लिइएको सखुवा जातको चिरान काठ पैसा लिई जिल्ला वन कार्यालयका पदाधिकारीले छाडेको पाइएको छ ।

इनरुवा नगरपालिका–१ शान्तिचोकबाट को. २ च १९२३ नम्बरको निलो रङको पिकअपबाट चिरान गरिएको करिब ४०–४५ क्युविक फिट काठ बरामद गरिएको थियो । बिल भर्पाइलगायत नभएको बरामद काठ छाड्नका लागि तीन चरण गरी ६५ हजार रुपैयाँ लिई छाडेको विशेष स्रोतबाट सूचना प्राप्त भएको छ । वन कार्यालयका निमित्त वन अधिकृत धर्मनाथ यादवले पैसा लेनदेन गरी काठ छाडेको जनाइएको छ ।

वन अधिकृत राजेन्द्रप्रसाद यादव भने हाल बिदामा छन् । निमित्त वन अधिकृत धर्मनाथ यादवले घर भत्काएको पुरानो काठ भएकाले जाँचबुझ गरेर छाडिएको दाबी गरे । उनले ब्लाष्टकर्मीसँगको फोन सम्पर्कमा भने, ‘म त वन पैदावरको कार्यक्रममा थिएँ, मैले हेरिनँ, घर भत्काएको पुरानो काठहरू थियो भनेर मलाई सूचना आयो । कुनै त्यस्तो काम भएको छैन । त्यही भएर छाडिदिएको हो ।’

उनले पैसा लिएको विषयमा आफूलाई थाहा नभएको बताए । तर, स्रोतका अनुसार वन कार्यालयका सहयोगीको छिमेकीमार्फत् तीन चरणमा ६५ हजार रुपैयाँ लिएको खुल्न आएको छ । पहिलो चरणमा ४० हजार, दोस्रो चरणमा २० हजार र तेस्रो चरणमा ५ हजार रुपैयाँ लिएको स्रोत बताउँछ । तर, अधिकृत यादव भन्छन्, ‘त्यो कुरा मलाई थाहा भएन । छाडेको हो । पैसाको आरोप मलाई थाहा भएन । त्यो गलत कुरा हो । पुरानो काठ थियो ।’ उनका अनुसार पछि बोलाएको बखतमा आउने गरी भर्पाइ गरेर छाडिएको हो । उनले आफूले काठ कति थियो भन्ने नदेखेको तर, ४–५ क्युविक फिट मात्रै काठ भएको दाबी गरे । उनले पुरानो काठको बिल भर्पाइ नहुने भन्दै बचाउ गरे ।

तर, स्रोतका अनुसार करिब डेढ लाख रुपैयाँ बराबरको सखुवा जातको चिरान काठ बरामद गरेको थियो । नियन्त्रणमा लिइएको पिकअपमा लोड गरिएको काठ हेर्दा पनि ४–५ क्युविक फिटभन्दा बढी नै काठ रहेको अनुमान गर्न सकिन्छ । कुनै पनि प्रक्रिया अगाडि नबढाई रकम लिई छाडेको स्रोतको दाबी छ । उक्त काठ स्थानीयको सहयोगमा वन कार्यालयका जमदार, सशस्त्र वन रक्षक र वन रक्षकले बरामद गरेका थिए । निमित्त वन अधिकृत यादव यसअघि उदयपुरस्थित वन कार्यालयमा हुँदा पनि विवादमा परेका व्यक्ति हुन् ।