विराटनगर । छोरासँगको रिसइबी साध्ने क्रममा आमाको हत्या गरिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा दिनदहाडै छुरी प्रहार गरी ५० वर्षीया भूमि चौधरीको हत्या गरिएको हो । हत्यामा संलग्न खनारकै २५ वर्षीय गणेश चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । आरोपित चौधरीले छोरासँगको रिस फेर्नका लागि आमाको हत्या गर्न पुगेका छन् । छोरासँगको पुरानो रिसइबी साध्ने क्रममा आमाको हत्या गर्न पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गणेशले भूमिलाई छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

मृतक भूमिका २६ वर्षका छोरा छन् । भूमिका छोरा र हत्या आरोपमा पक्राउ परेका गणेश साथी हुन् । ‘तिहारअगाडि एक दिन गणेश र एउटा समूहको झगडा भएको थियो । त्यसबेला गणेशले केटी जिस्काएकोले झगडा भएको भूमि र उनका छोराले सार्वजनिक स्थलमा भनिदिएका थिए । त्यस विषयमा गणेश रिसाएका रहेछन् र उनले इगोको रूपमा लिँदा घटना भएको देखिएको छ । छोरासँगको रिस फेर्न पनि गणेशले चक्कु प्रहार गरी आमाको हत्या गरेको खुलेको छ’–घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने । छुरा प्रहारबाट महिलाको कोखामा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी उनको विराटनगरस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहकारी पुग्नै पाइनन् भूमि
भूमि आइतबार दिउँसो घरबाट साथी सुशीलासँग इटहरी सहकारीमा जाने तयारी गरेकी थिइन् । सहकारीको कामले साथीसँग दिउँसो साढे १२ बजेतिर उनी घरबाट निस्किइन् । घरबाट नस्किएर बाटोमा मात्र पुगेकी थिइन् । त्यहीबेला गणेशले कोखामा चक्कु हाने । चक्कु कोखामै गाडिएको थियो । उपचार गर्न लैजाँदै गर्दा भूमिको बाटोमै मृत्यु भयो’–भूमिकी साथी सुशीलाले भनिन् । सुनसरी प्रहरीले भूमिको हत्या आरोपमा गणेशलाई खनारबाट पक्राउ गरेको छ । पक्राउ परेका चौधरीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।