फिल्म 'सतीदेवी' को धरानस्थित फ्रेण्ड्स सिनेमामा हुने भनिएको विशेष प्रदर्शनी स्थगित गरिएको छ ।

फिल्मको मङ्सिर २५ गते धरानमा विशेष शोको आयोजना हुनेबारे जानकारी गराइएको थियो । तर आज मौसमका कारण निर्धारित समयमा पूर्वमा जहाज अवतरण हुन नसकेका कारण फिल्मको युनिट उपस्थित हुन नसकेपछि विशेष प्रदर्शनीको कार्यक्रम स्थगित गरिएको चलचित्र पत्रकार संघ नेपाल सुनसरीका अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए ।

चलचित्र पत्रकार संघ सुनसरी शाखाको आयोजनामा फिल्मको विशेष शो आयोजना हुन लागेको थियो । यस्तै, मङ्सिर २६ गते फिल्मको विशेष शो बिर्तामोडमा हुने तय भएको थियो ।

शोमा सहभागी हुनका लागि नायिका मलिका महत र निर्देशक लक्ष्मण सुवेदी धरान र बिर्तामोड आउने कार्यक्रम रहेको थियो ।

सामाजिक कथावस्तुमा निर्मित संचारकर्मी तथा चलचित्र निर्देशक सुवेदीको फिल्म ‘सतीदेवी’ प्रतिक्षित फिल्मका रुपमा रहेको छ । 'फर्स्टलुक' सार्वजनिक भएसँगै फिल्मले चर्चा पाएको थियो । नायिका मलिका महतको नयाँ अवतारलाई दर्शकले रुचाएका छन् ।

निर्देशक सुवेदीका अनुसार फिल्मको नाम सतीदेवी भए पनि हिन्दू धर्मकी देवी 'सतीदेवी' बारे हुने छैन। फिल्मले एक ग्रामीण युवतीको संघर्षको कथा भनेको छ ।

फिल्ममा मलिका महत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको अभिनय रहेको छ ।

दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन वैशाखदेखि सुरू भएको थियो छ। 'यात्रा' बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी मलिका पछिल्लाे समय फिल्म 'पानीफाेटाे' मा देखिएकी थिइन् ।