जनपथ । गत भदौ २ गते शनिबार धरान–११ स्थित वरपीपल चोक र सुनुवार सङ्घअगाडि ‘काला र छाला’ (छद्म नाम गरेका लागूऔषध प्रयोगकर्ता) लाई ९ थान घरेलु हतियार खुकुरी र कट्टी तथा ठूलो मात्रामा लागूऔषधसहित नियन्त्रणमा लिइयो ।

भदौ १३ गते धरान–११ कै प्रेमपथमा शङ्कास्पद गतिविधि भएको जानकारी पाएपछि छापा मार्दा ठूलो परिमाणमा लागूऔषध फेला पर्यो ।

भदौ २३ गते धरान–११ कै विष्णु चोकमा घरेलु हतियार चार थान खुकुरी, २ थान छुरी र ३ थान  कट्टी नियन्त्रणमा लिइयो ।
स्थानीय १२ टोल विकास संस्थाहरूको छाता सङ्गठनले धरान–११ मा गत भदौ महिनादेखि नियमित गस्ती गरिरहेको छ,  यो गस्तीको उद्देश्य धरान–११ लाई दुव्र्यसनमुक्त बनाउनु हो ।

१२ टोल विकास संस्था सम्मिलित समूहले भदौदेखि यता ३ महिनामा लागूऔषध दूव्र्यसनविरुद्धको अभियान चलाएर दर्जन बढी कारबाही गरेको छ । पछिल्लो पटक रिटिङ बस्तीस्थित ठाडो सोलिङमा मङ्सिर २ गते एउटा घरेलु हतियार र कट्टीसहित २० थान लागूऔषध नियन्त्रणमा लियो । त्यस्तै वान डाँडामा पहिलो पटक समूहले छापा मार्दा २ हजार ट्याब्लेट लागूऔषध, घरेलु हतियार ९ थान, र पछिल्लो पटक एक कार्टुन ट्याब्लेट नियन्त्रणमा लिएको थियो ।

टोल विकास संस्थाहरूको छाता सङ्गठनका संयोजक उमेश राईले वडाका युवायुवती लागूऔषधमा फस्ने गरेको बग्रेल्ती तथ्य फेला परेपछि आजित भएर ‘सर्च एण्ड अरेस्ट’ अभियान चलाएको बताए । यो अभियान वडा कार्यालय, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालयलगायतका सरोकारवाला निकायलाई अग्रिम जानकारी गराएर सुरु गरेको बताए । समूहले नियमित गस्ती गर्छ । लागूऔषध नियन्त्रण र प्रयोगकर्तालाई  निरुत्साहित गर्न मात्रै सचेतना अभियानले प्रभावकारिता नहुने देखेर आफूहरू ‘एक्सन’ मै उत्रिएको संयोजक राई बताउँछन् ।

संयोजक राईका अनुसार ‘सर्च एण्ड अरेस्ट’ अभियानअन्तर्गत समूहले लागूऔषध प्रयोगकर्ताका सूचना प्राप्त गर्छ । शङ्कास्पद बस्ती र टोलमा नियमित गस्ती हिँड्छ । अबाञ्छित गतिविधिको निगरानी गर्छ । नयाँ मान्छे र फरक क्रियाकलापको निरीक्षण गर्छ ।

‘१० वर्ष उमेरदेखि १७ वर्षका नानीहरू जोगाउनै गाह्रो भयो’ समूहका संयोजक राईले भने, ‘नानीहरूले राम्रो पढेर आए कि आएनन् हैन, के खाएर आए भनेर निगरानी गर्नुपर्ने अवस्था आएको छ ।’  उनले अभियानअन्तर्गत लागूऔषध प्रयोग र वितरणलाई आफ्नो वडाबाट नियन्त्रण गरेरै छाड्ने प्रतिबद्धताका साथ लागेको बताए ।

११ वर्ष टोल विकास संस्थाको अध्यक्षका रूपमा काम गरेका राईले जनचेतनाका रूपमा मात्र काम गर्ने बताए । उनले ‘एक्सन’ मा जानुको विकल्प नरहेकाले वडाका सबै टोल विकास संस्थालाई गतिशील बनाएको बताए ।

बुबा–आमा नभएका वा विदेशमा भएका, अभिभावकत्व दिन नसकेकाहरूका बालबालिका मुख्यरूपमा दुव्र्यसनमा फसेको पाइएको छ’ प्रेमपथ टोल विकास संस्थाका अध्यक्ष सुरेन लिम्बूले भने, ‘अभियानअन्तर्गत हामीले सबै घरपरिवारलाई आफ्ना छोराछोरी कहाँ जान्छन्, कतिबेला सम्पर्कविहीन हुन्छन्, सबै निगरानी राख्न आग्रह गर्दै आएका छौँ ।’

अभियानका क्रममा समूहका सदस्यहरूलाई सुरक्षा चुनौती पनि हुने गरेको छ । प्रत्येक पटक लागूऔषध प्रयोग गर्ने स्थान र  व्यक्तिका बारेमा सूचना आउँदा उनीहरूसँग घरेलु हातहतियारसमेत हुने गरेको छ ।

लागूऔषध प्रयोगकर्ताले आफ्नो गतिविधिमा अवरोध नहोस् भन्ने मनसायले हातहतियार राख्ने गरेको र आक्रमण गर्नेसमेत गरेको राइजिङ टोल विकास संस्थाका अध्यक्ष इन्द्र राई बताउँछन् । ‘उनीहरूले आक्रमण गर्नेमात्र होइन, अराजक समूहबाट ‘टर्चर’ समेत आउने गरेको छ’ अध्यक्ष राईले भने, ‘लागूऔषध प्रयोग गर्नेहरूमा युवतीहरूको सङ्ख्या पनि बढेको पाइयो, उनीहरू आफैबीच पनि झै–झगडा र काटाकाट हुने गरेको तथ्य देखिन्छ ।’

प्रहरी प्रशासनसँग असन्तुष्टि
‘सर्च एण्ड अरेस्ट’ अभियानमा लागिपरेका धरान–११ का १२ वटा टोल विकास संस्थाको छाता सङ्गठन दुव्र्यसनमुक्त धरान–११ को अभियानमा छ । अभियानको सहयोगका लागि स्थानीय सरकार र प्रहरी प्रशासनको सहयोग, समन्वयमा काम अघि बढाएको छ । तर, अपेक्षित सहयोग नपाएको गुनासोसमेत समूहले गरेको छ ।  

‘प्रशासनले लागूऔषध प्रयोगकर्तासँग हात मिलाएर हिँड्दा प्रयोगकर्ताको मनोबल उच्च भएको र अभियानकर्मीको मनोबल गिरेको एक सदस्यले आरोप लगाए । उनले अभियानमा प्रहरीले साथ दिनुपर्ने धारणा राखे ।

प्रयोगकर्तालाई प्रशासनको जिम्मा लगाए पनि मुद्दा चलाउन प्रशासनको हिच्किचाहट देखिएको समूहका सदस्यहरूको आरोप छ । ‘हामीलाई पुलिसले साथ नदिए पनि हामी अगाडि बढ्छौँ’ राइजिङ टोल विकास संस्थाका अध्यक्ष इन्द्र राईले भने, ‘९ थान हातहतियार, लागूऔषधसहित प्रहरीमा बुझाएका थियौँ तर, त्यो प्रहरी कार्यालय पुगेन छ ।’

उनले प्रहरी प्रशासनबाट सहयोग नपाएको दुःखेसो गरे । छापामार्ने क्रममा प्रहरीलाई खबर गरे पनि प्रहरी ढिलो आउने, प्रशासनबाटै मनोबल गिराउने काम गरेको अनुभूति भएको उनीहरूले गुनासो गरेका छन् । ‘हामीले प्रहरीलाई निगरानी बढाउन आग्रह गरे पनि नजरअन्दाज मात्र गरेको हामीलाई अनुभूति भएको छ’–अध्यक्ष राईले भने । हिजो अभियान गर्दैगर्दाको अवस्था र सर्च एण्ड अरेस्ट अभियान गर्दाको अवस्थामा परिवर्तन आएको महावीर टोल विकास संस्थाकी अध्यक्ष सबु राईले बताइन् । उनले विना भत्ता र तलबमा काम गरिरहेकाले प्रहरी प्रशासन, स्थानीय नागरिक एवम् सरोकारवाला सबैले संवेदनशील भएर सहयोग गर्नुपर्ने उनले बताइन् । ‘हामीले दुव्र्यसनमुक्त समाज निर्माण गर्ने एउटै उद्देश्यले काम गरिरहेका छौँ’–अध्यक्ष राईले भनिन् ।

शुक्रबार धरान–११ स्थित कुविर्ता चोकमा लागूऔषधविरुद्ध पत्रकार सम्मेलन गर्दै टोल विकास संस्थाको छाता सङ्गठनले अभियानको तीन महिनामा ५० प्रतिशत दुव्र्यसनका गतिविधिमा ह्रास आएको बताएको छ । संयोजक उमेश राईले दुव्र्यसनका गतिविधि नियन्त्रण गर्न टोल–टोलमा सिसी क्यामेराको व्यवस्थापन गर्ने योजना रहेको बताए । अभियानअन्तर्गत धरान–११ का १२ वटा टोल विकास संस्थाहरू संयुक्त टोल विकास संस्था, महावीर, चौतिस घरे, राइजिङ, वरपीपल, प्रेम पथ, सगरमाथा, रिटिङ स्वतन्त्र, भोजपुरे भीआरसी, सखुवागाछी, कुविर्ता चोक र मकालु टोल विकास संस्थाले गस्ती र निगरानीको काम गरिरहेका छन् ।