‘एम्स कलेज’ नामबाट सञ्चालित धरान १२ स्थित एक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । फेसबुकमार्फत् केही अभियन्ताले भिडियो पोस्ट गरेपछि कुटपिट गर्ने शिक्षक र शिक्षण संस्थाको तीव्र आलोचना भएको छ । 

भिडिओमा एम्स कलेजका विद्यार्थीलाई सोही कलेजका शिक्षकले पहिले पाइपले हिर्काएको पछि थप्पड र लात्तले समेत निर्ममता पूर्वक हिर्काएको देखिन्छ । निर्घात कुटपिट गरेको भिडिओ बाहिरिएपछि सामाजिक सञ्जालमा कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्न माग गरिएको छ । एक जना विद्यार्थीलाई २ जना शिक्षकले निर्घात कुटपिट गरेको भन्दै तुरुन्त कानुनी कारबाही गरिनुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका छन् । 

भिडिओ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश उपसभापति सरिन तामाङले पोस्ट गरेको देखिन्छ । पछि उनैले पीडितका अभिभावकसँग फेसबुकमा प्रत्यक्ष कुराकानी गरेको समेत देखिन्छ । विद्यार्थीका अभिभावकले आफ्नो छोरा मात्रै नभै अरु धेरै विद्यार्थीहरु पीडित भएको भिडिओमा बताएका छन् । उनले आफ्नो छोरालाई शिक्षक विदुर महत र बुद्रोस लिम्बूले आक्रमण गरेको बताएका हुन् । पीडितका अभिभावकले क्षतिपूर्तिवापत् ४ लाख रुपैयाँ माग गरे पनि आफूले सो माग गर्न नहुने स्वीकार गरेका छन् । कलेज प्रशासनले भने २ लाख ५० हजार मात्रै दिने कुरा गरेको उनले बताए । पीडित विद्यार्थीसहित अभिभावक र सामाजिक अभियान्ताको सहयोगमा आज इलाका प्रहरी कार्यालयमा कुटपिट गर्ने शिक्षकविरुद्ध जाहेरी दिइएको छ । पीडितका अभिभावकले  आरोपितविरुद्ध किटानी जाहेरी दिएका छन् । घटना चार दिन अघिको भएपनि शुक्रबार  सामाजिक सञ्जालमा सिसिटिभी फुटेज बाहिरिएको थियो ।  पीडित विद्यार्थी १७ वर्ष मात्रै पुगेकाले बालबालिकाविरुद्धको कसुरमा जाहेरी आएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।