नेपाली काङ्ग्रेस धनकुटाले पाख्रीबास नगरपालिका वडा नं. ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको घटनाको विरोध गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

वडाध्यक्ष गुरागाईको परिवारको हत्या गर्ने उद्देश्यले शनिबार मध्यराति घरबाहिर चाबी लगाई आगजनी गरिएको भन्दै घटनाको दोषीलाई कारबाहीको माग गरेको हो । नेपाली काङ्ग्रेस धनकुटाका सभापति दिनेश राई र सचिव विजय सन्तोषी राईले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टीका नेता तथा वडाध्यक्ष गुरागाईं र उनको परिवारको हत्या गर्ने उद्देश्यले रातको समयमा सुतिरहेको अवस्थामा बाहिरबाट चाबी लगाएर घरमा आगजनी गर्ने अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै घटनाको निष्पक्ष छानबिन गर्न भनिएको छ ।

यो घटनाबाट अलिकति पनि विचलित नहुन वडाध्यक्ष गुरागाईं र उनका परिवारजनमा आग्रह समेत विज्ञप्तिमार्फत् गरिएको छ । घटनामा संलग्न सुशील अधिकारीलाई कडा कारबाही र थप अनुसन्धान गर्न माग गरिएको छ ।

सो अवसरमा वडाध्यक्ष तथा काङ्ग्रेस नेता गुरागाईं, पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङ, नेपाली काङ्ग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, माओवादी केन्द्र धनकुटाका सचिव ओमप्रकाश निरौला, जसपा धनकुटाका सह–सचिव तथा अधिवक्ता नारायणजुन राईलगायतको टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दर्ता गरेको छ ।

वडाध्यक्ष गुरागाईंको घरमा शनिबार मध्यराति आगजनी गरिएको थियो । घटनामा संलग्न भएको आशङ्कामा स्थानीय सुशील अधिकारीलाई प्रहरीले शनिबार बिहानै पक्राउ गरेको थियो । पक्राउ परेका अधिकारीलाई घटनामा उनको संलग्नताको विषयमा सोधपुछ गर्दा कुनै बेला हो र कुनै बेला होइन भनिरहेकोले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले बताए ।