वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ को दुर्गम क्षेत्रमा पर्ने सिलपाखा र बाक्सिन्टार टोलमा यातायातका लागि सडकको ट्रयाक खोलिएको छ ।

बुधबार श्रमदान अभियानमार्फत् करिब तीन किलोमिटर ट्रयाक खोलिएको नगरप्रमुख रमेश कार्कीले जानकारी दिए । नगरप्रमुख कार्कीले आफ्नो नेतृत्वमा गएको ४० जनाको टोलीले करिब ६ घण्टा श्रमदान गरेको बताए । बाटोमा पर्ने झाडी सफाइ, ढुङ्गालगायत भौतिक अवरोध हटाएको १ नम्बर वडाका अध्यक्ष किसन थापाले बताए ।

अभियानमा वडा सदस्यद्वय कुमार भट्टराई र दीपक राई, सशस्त्र प्रहरी बल नेपाल चतरा बेस क्याम्पका प्रमुख इन्स्पेक्टर बिगबहादुर गोलेसहित सशस्त्र टोली, जनपद प्रहरी, नगर प्रहरी र स्थानीयबासी सहभागी रहेका थिए । करिब ३० घरधुरी रहेको सिलपाखा र बाक्सिङ्टारबासीको यातायात सहजतासँगै बनिरहेको तमोर करिडोर सडकसँग जोड्ने गरी ट्र्याक खोलिएको छ । यस सडकका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख कार्कीले जानकारी दिए ।

एक महिनाअगाडि वडाध्यक्ष र प्राविधिकसहितको टोलीले बाटोको निरीक्षण गरेको थियो । वडामा सडक पुर्याउने नगरको योजनाप्रति स्थानीय खुसी देखिएका थिए । स्थानीय विक्रमदेवचन्द्र राईले नगरले सडक खन्ने अभियान सुरु गरेकोमा खुसी व्यक्त गरे । साविक वराहक्षेत्र गा.वि.स. ९ नम्बर वडामा पर्ने उक्त स्थानमा मोटरबाटो पुग्न सकेको थिएन । मोटर गाउँसम्म नपुगेका कारण धेरै कुराको असुविधा रहेको श्रमदानमा खटिएका ७१ वर्षीय स्थानीय बालकुमार राईले बताए ।

बाटोको सुविधा भएपछि बालबच्चा विद्यालय जान–आउन र बिरामीलाई अस्पताल लान सहज हुने अर्का स्थानीय बलेसिंह राईले बताए । वडाबासीलाई हाल खानेपानी, यातायात, स्वास्थ्यलगायतका समस्या समाधान गर्न नगरप्रमुख कार्कीले स्थानीय जनप्रतिनिधिसँग मिलेर गरेको रचनात्मक प्रयासले आफूमा ऊर्जा मिलेको वडाध्यक्ष थापा मगरले बताए ।

sadak2