धरान ।  धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीको टोली धनकुटा आएको छ ।

पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचार–प्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो । धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होम–स्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्धनका लागि धनकुटा आएको हो ।

टोलीलाई बुधबार धनकुटा नगरपालिकाले स्वागत गरेको छ । नगरप्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारीलगायतले स्वागत गरे । नगरप्रमुख तामाङले धनकुटा नगरमा पर्यटन प्रवर्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । उनले यहाँका पर्यटकीय क्षेत्रहरूलाई आ–आफ्नो क्षेत्रबाट प्रचार–प्रसार गरेर सहयोग गर्न आग्रह गरे ।

देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइडलगायत टोलीमा सहभागी छन् । पाँच दिनसम्म उनीहरू धनकुटामा रहनेछन् ।

यहाँका पर्यटकीय क्षेत्रहरू, होम–स्टे व्यवसाय, आठपहरिया जातिको संस्कृतिलगायत अवलोकन गरेर प्रचार–प्रसार गर्ने विश्वास लिइएको छ ।