धरान । धरान–१५ स्थित चिल्ड्रेन्स् एकाडेमीले मङ्गलबार २८ औँ जुनियर स्पोर्ट्स मिट सम्पन्न गरेको छ ।

विद्यालय परिसरमा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीहरू सहभागी गराई रमाइला बालसुलभ खेलकुद प्रतियोगिता आयोजना गरी स्पोर्ट्स मिट सम्पन्न गरेको हो । प्रिन्सिपल गीता गुरुङ तथा भाइस प्रिन्सिपल वसन्त गुरुङद्वारा संयुक्तरूपमा पानसमा दीप प्रज्वलन गरी स्पोर्ट्स मिट उद्घाटन गरिएको थियो ।

रेड, ब्लु, ग्रीन, यल्लो हाउसका साथै राष्ट्रिय झण्डासहित मार्चपास गर्दै कार्यक्रम आरम्भ गरिएको थियो । विद्यार्थीहरूले कक्षागतरूपमा प्रतियोगितात्मक खेलकुदमा उत्साहपूर्वक सहभागिता जनाएका थिए । स्पोर्ट्स मिट उद्घाटनका क्रममा आफ्नो मन्तव्य राख्दै प्रिन्सिपल गीता गुरुङले खेलकुद बालबालिकाहरूको शारीरिक एवम् मानसिक तथा चौतर्फी विकासका लागि अपरिहार्य रहेको जनाउँदै यही कुरालाई मनन् गर्दै विद्यालयले हरेक वर्ष स्पोर्ट्स मिट आयोजना गर्दै आएको बताइन् ।

कार्यक्रममा अभिभावकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा अभिभावकहरूलाई सहभागी गराई खेलाइएको पासिङ द बल खेलमा विजयी अभिभावकहरूलाई पनि प्रिन्सिपल गुरुङले पुरस्कार  हस्तान्तरण गरेकी थिइन् ।

समापनका अवसरमा आफ्नो मन्तव्य राख्दै भाइस प्रिन्सिपल वसन्त गुरुङले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलगायत शिक्षक शिक्षिका, कर्मचारी तथा उपस्थित सम्पूर्ण अभिभावकहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।

khel2