धनकुटा । गण्डकी प्रदेशअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ घाँसीकुवामा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा धनकुटा साँगुरीगढी नगरपालिकाका एकसहित दुईजनाको ज्यान गएको छ ।

पोखरा जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडक–खण्डको घाँसीकुवामा सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका ट्राफिक प्रहरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५०–५५ वर्षका टोपबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

राईको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको एसपी तिम्सिनाले जानकारी दिए । दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन् । घाइतेहरूमध्ये  ९ जनालाई  पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ भने अन्यको दमौली अस्पताल र तनहुँको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी तिम्सिनाले जानकारी दिए ।

घाइतेहरूमध्ये सप्तरीको महादेव गाउँपालिका–६ का १५ वर्षीया प्रिती यादव उपचारपश्चात् डिस्चार्ज भइसकेकी छन् । प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो । यता साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दालीले बुधबार नै एक शोक विज्ञप्ति जारी गरेर दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिरशान्तिको लागि हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अध्यक्ष रुम्दालीले विज्ञप्तिमा भनेका छन्, ‘घाँसीकुवामा भएको यात्रुवाहक बस दुर्घटनामा साँगुरीगढी गाउँपालिकाको वडा नं.७, ८ र ९ का वडाबासी धेरै परेकाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना छ । प्रभावकारी उपचार होस् ।’