भद्रपुर । उज्यालो परिवर्तन समाज नेपालले झापा कारागारका कैदीबन्दीमध्ये तीन सयजनाको निःशुल्क आँखा परीक्षण गरेको छ ।

झापाको बिर्तामोडस्थित दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा कारागारका कैदीबन्दीहरूमध्ये तीन सयजनाको आँखा परीक्षण गरिएको हो । संस्थाले बुधबार कारागारभित्र एक कार्यक्रम गरी शिविर गरेको छ । संस्थाले पुरुषहरूका लागि मात्रै लक्षित गरी शिविर आयोजना गरेको हो ।

शिविरमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले आँखा जाँच गराएर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सहायक प्रजिअ न्यौपानेले संस्थाको नाम अनुसारकै उज्यालो कामको संज्ञा दिँदै कैदीबन्दीका लागि कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । झापाको बिर्तामोड–५ मा रहेको संस्थाले विभिन्न सामाजिक गतिविधिमा योगदान दिँदै आएको छ ।

शिविरमा स्वागत गर्दै बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष किशोर पौडेलले आगामी दिनमा संस्थासँग कारागारभित्रका कार्यक्रमहरूमा हातेमालो गरेर अगाडि बढ्ने बताए । निःशुल्क शिविर सञ्चालनका लागि प्राविधिक सहयोग गर्ने दृष्टि आँखा अस्पतालका अजितकुमार ठाकुरलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

कारागारभित्रका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै अगाडि बढ्ने साथै कारागारका कैदीबन्दीहरूलाई क्षमताअनुसार व्यवस्थापनका लागि पहल गर्ने संस्थाका सल्लाहकार संयोजक सुभाष भट्टराईले बताए । संस्थाका अध्यक्ष रामप्रसाद मैनालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला कारागार झापाका प्रमुख मोहनलाल पनेरू, सञ्चारकर्मी संस्थाका पदाधिकारीलगायतको सहभागिता रहेको कार्यक्रम संस्थाका सचिव पुष्प पाठकले सञ्चालन गरेका थिए । संस्थाले आउँदो आइतबार ३ जना विपन्न परिवारलाई कपडा वितरण गर्ने जनाएको छ ।