धनकुटा । दलित मुक्ति आन्दोनलका नेता स्व.भद्रमान घलेको वार्षिक पुण्यतिथिको अवसर पारेर मङ्गलबार धनकुटा नगरपालिका–४ श्रीपञ्चमी पार्कमा रहेका १३ जना अनाथ बालबालिकाहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

भद्रमान घले स्मृति प्रतिष्ठान धनकुटाका संयोजक एवम् भद्रमान घलेको छोरी इन्दिरा घलेले बाल पुनःस्थापना केन्द्रमा रहेका बालबालिकाहरूलाई जाडोमा लगाउने न्यानो कपडा, झोला, शैक्षिक सामग्री तथा खेलकुदका सामग्री वितरण गरेका हुन् । पूर्व सांसद् एवम् मदन आश्रित प्रतिष्ठान धनकुटाका पूर्व अध्यक्ष गोपाल गुरागाईंको प्रमुख आतिथ्यमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रमको औचित्यमाथि भद्रमान घलेकी छोरी इन्दिरा घलेले प्रष्ट पारेकी थिइन् । साथै सो अवसरमा बाल पुनःस्थापना केन्द्रमा रहेका बालबालिकाहरूलाई स्टेसनरी, झोला, न्यानो कपडाहरू, हात धुने साबुन, ब्रस, पेस्ट र खेलकुदका सामग्री वितरण गरिएको थियो ।

बाल पुनस्र्थापना केन्द्र धनकुटाकी अध्यक्ष एवम् धनकुटा नगरपालिकाकी पुर्व नगर उपप्रमुख शकुन्तला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राई, धनकुटा नगरका उपप्रमुख भीमा खनाल, नेपाल राष्ट्रिय अभिभावक सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, धनकुटा नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनाल, समाजसेवी महिला नेतृ टीकादेवी भण्डारी, सामाजिक अभियन्ता रविन्द्र नेपाली, पत्रकार रमेशचन्द्र अधिकारी, फोनिजका प्रदेश नं. १ का अध्यक्ष सन्तवीर लामालगायतले भद्रमान घलेको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको सञ्चालन मदन आश्रित प्रतिष्ठानकी सह–सचिव चन्द्रकला धमलाले गरेकी थिइन् । पुनःस्थापना केन्द्रकी व्यवस्थापक सुशिला मिश्रले सहजीकरण गरेकी थिइन् ।