कोसी नदीका  त्रिखुट्टी (प्रोकोपाइन) चोरी गर्नेलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । 

कोसी बाँधमा प्रयोग हुने रड र सिमेन्टले बनेको पिल्लर (त्रिखुट्टी) चोरी गरेर ल्याउँदै गरेको अवस्थामा सुनसरीको प्रकाशपुरबाट प्रहरीले चोरीमा संलग्न व्यक्ति, सिटी सफारीसहित नियन्त्रणमा लिएको छ  । 

सिटी सफारीसहित २१ थान त्रिखुट्टी चोरी गरेर ल्याउँदै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए । 

प्रहरीका अनुसार नियमित चेकिङका क्रममा गएराति चोरी गर्ने व्यक्तिसहित त्रिखुट्टी फेला परेको हो । प्रहरीले अनुसन्धान जारी रहेकाले यथार्थ विवरण भोलि सार्वजनिक गर्ने जानकारी दिएको छ । ‘चोरीमा संलग्न कोको छन्, भन्ने अनुसन्धान हुँदैछ, हामीले केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं, यथार्थ विवरण भोलि सार्वजनिक गर्नेछौं ।’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी रेग्मीले भने । 

स्थानीयका अनुसार दिनहुँ जसो लुकिछिपी त्रिखुट्टी चोरी भइरहेको छ । कोसी कटान नियन्त्रणका लागि भारत सरकारले त्रिखुट्टी लगाउने गरेको छ ।