विश्व भ्रमण तथा पर्यटन परिषद्  (डब्लुटिटिसी)का प्रमुख कार्यकारी अधिकृत जुलिया सिम्पसनले कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्रको सुधार राम्रै भइरहेकाले भिसा आवेदन प्रक्रियालाई थप सहज बनाउन सरकारहरूलाई आग्रह गरेका छन् ।

रुवान्डाको राजधानी किगालीमा आयोजित २३औँ डब्लुटिटिसी विश्व शिखर सम्मेलनका अवसरमा परिषद्का अध्यक्षसमेत रहनुभएकी सिम्पसनले अन्तर्राष्ट्रिय पर्यटनलाई अझ धेरै सहयोग गर्नका लागि भिसा प्रतिबन्धलाई कम गर्न र भिसा आवेदन प्रक्रियामा तीव्रता ल्याउन सरकारहरूलाई आग्रह गरे

 वैश्विक भ्रमण फेरि बढिरहेको र विशेषगरेर एसिया–प्रशान्त क्षेत्रसहित सबै क्षेत्रमा पहिलाको अनुमानभन्दा अत्यधिकरूपमा सुधार भइरहेको डब्लुटिटिसी र उसको सहयोगी अक्सफोर्ड इकोनमिक्सको नयाँ आँकडाले उल्लेख गरेको छ । 

‘दिगो भविष्यका लागि पुल निर्माण’ भन्ने विषयअन्तर्गत रुवान्डा विकास बोर्ड(आरडिबी) को सह आयोजनामा भएको सम्मेलनमा यो वर्षको डब्लुटिटिसी कार्यक्रमले पर्यटन क्षेत्रको विकास र प्रगतिलाई सहयोग गर्न तथा सुरक्षित, बढी लचिलो, समावेशी र दिगो भविष्यका लागि उद्योग जगत्का हजारौँ नेता तथा विशेषज्ञ र प्रमुख सरकारी प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याएको छ । सन् २०२४ को विश्व शिखर सम्मेलन पश्चिमी अस्ट्रेलियाको राजधानी पर्थमा आयोजना गरिने घोषणा गरिएको छ ।