फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा यो नयाँ घटना हो । 

मिसामिस अक्सिडेन्टल प्रान्तमा कलाम्बा नगरपालिकाका प्रहरी प्रमुख क्याप्टेन डेओर रगिनियोका अनुसार दक्षिणी टापु मिन्डानाओस्थित आफ्नो घरमा रहेको रेडियो स्टेसनमा बन्दुकधारीले ५७ वर्षीय जुआन जुमालोनको टाउकोमा गोली चलाएका थिए । 

संदिग्ध बन्दुकधारी अन–एयर घोषणा गर्ने बहाना बनाएर स्टुडियोमा प्रवेश गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार गोली हानेपछि अपराधी भाग्यो र जुमालोनलाई स्थानीय अस्पतालमा मृत घोषणा गरिएको थियो । 

सन् २०२२ जुनमा राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले पदभार सम्हालेपछि हत्या भएका पत्रकारमा जुमालोन चौथो व्यक्ति भएको नेसनल युनियन अफ जर्नालिस्ट्सले बताएको छ । पत्रकारहरूका लागि फिलिपिन्स विश्वमा सबैभन्दा खतरनाक स्थान हो र यहाँ पत्रकारका हत्याराहरू प्राय सजायबाट बच्ने गरेका छन् । राजधानीबाहिर प्राय रेडियो प्रसारक निशानामा पर्ने गरेका छन् । जुमालोनले आफ्नो सेबुआनो–भाषा ९४।७ गोल्ड एफएम कलाम्बा स्टेसनमा ‘डिजे जोनी वाकर’ नाम प्रयोग गरे । 

प्रहरी प्रमुख रगिनियोले प्रहरीले हत्याको उद्देश्यको अनुसन्धान गरिरहेको बताएका छन् ।आफूहरूलाई जुमालोनको जीवन खतरामा रहेको पछिल्लो अवस्थाबारे थाहा नभएको उनले बताएका छन् । “उनका धेरैजसो समसामयिक घटनाहरूलाई प्राथमिकता दिएर र आफ्नो प्रसारणमा उनले कसैलाई आलोचना गरेको थाहा थिएन”,रगिनियोले भने ।