काठमाडौँ/जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबिचआज द्विपक्षीय भेटवार्ता भएको छ । 

भेटका क्रममा उनिहरूले बिच नेपाल र चीन सम्बन्ध, द्विपक्षीय सहकार्यका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल (एक चीन नीति)प्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् । “आन्तरिक तथा बाह्य राजनीतिक परिस्थितिमा फेरबदल भए पनि एक चीन नीतिप्रति नेपालको स्पष्ट र अटल अडान रहेको छ”, उनले भने् 

उपप्रधानमन्त्री श्रेष्ठले कानुन कार्यान्वयन, सीमा व्यवस्थापन तथा सुरक्षा अधिकारीको क्षमता अभिवृद्धिलगायत विषयमा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउने बारेमा छलफल गरेकाम छन्। उनले शान्ति सुरक्षा कायम गर्न तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमापार सुरक्षा सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।

भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री सियाओहङले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक सहायता सामग्री निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाल–चीन सीमा क्षेत्रका १४ वटा सीमा नाकालाई खुला भएकामा दुवै नेतृत्वले प्रशंसा गर्नुभएको थियो । उनिहरूले सीमा नाका खुला हुँदा द्विपक्षीय व्यापार प्रवद्र्धन मात्रै हुने नभई दुई देशबीचको जनस्तरको सम्बन्धलाई पनि प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । 

भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ र विपद् तथा जोखिम व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल तथा चीनका तर्फबाट सार्वजनिक सुरक्षामन्त्री सियाओहङसहित चिनियाँ उच्च अधिकारी सहभागी रहेका छन् ।