‘धर्तीका गायक’ ‘नेपाली बब मार्ली’ गंगा वरदानको ४५ वर्ष अगाडि रेडियो नेपालमा रेकर्ड गरिएको गीतको पुनः स्वरांकन (रिरकर्डिङ) र पुनः छायांकन ‘रिसुट’ गरिएको छ  । 

इभेन्ट म्यानेजमेन्टमा पूर्वमा काम गरिरहेको ‘सिल्भर इन्टरटेन्मेन्ट’ ले वरदानको गीतलाई ‘रिमेकिङ’ गरेको हो ।

  

२०३५ सालमा स्वरपरीक्षा उत्तीर्ण नगरिकनै सिंहदरबारस्थित रेडियो नेपालमा गायक वरदानले ‘कहाँमा काट्यो बेतको लौरी’ गीत रेकर्ड गर्ने अवसर प्राप्त गरेका थिए । यो गीत गायक विपुल छेत्रीले गाएपछि चर्चा र विवादमा आएको थियो । पछि गीतलाई गायक छेत्रीले ‘ओरिजिनल क्रेडिट’ दिएपछि विवाद मिलेको थियो । यो गीत युट्युबमा दर्जन पटकभन्दा बढी अपलोड भएको छ । युट्युब सर्च गर्दा ‘कभर सङ’का रुपमा यो गीत बग्रेल्ती पाइन्छ ।  

वरदानको जन्मथलो भोजपुरमै आयोजित लोक तथा नृत्य प्रतियोगितामा  ‘दाइ त काले भाइ पनि काले, काले काले मिलेर खाउँ भाले’ बोलको आफ्नै संकलन तथा स्वर रहेको गीत १६ वर्षको कलिलो उमेरमा नै दोस्रो स्थान प्राप्त गरी पाँच हजार रुपैयाँ पुरस्कार पाएका थिए ।  

त्यसको ६ वर्षपछि २०३१ सालमा धरानमा आयोजित पूर्वाञ्चलव्यापी लोक गीत प्रतियोगितामा ‘छपनीले छान छान डबकीले हान’ बोलको गीतबाट प्रथम स्थान हात पारेका थिए । २०३२ सालमा ‘बजारै भरौन धरान’ र २०३३ सालमा धरानको पब्लिक हाइस्कुलको मैदानमा आयोजित कार्यक्रममा ‘अरुनै तर्यो बरुनै तर्यो’ बोलको गीत प्रस्तुत गरेका थिए । वरदानको सांगीतिक यात्राले ५० वर्ष बढी समय पार गरिसकेको छ ।  

२००९ साल फागुन २ गते आमा धनमाया मास्के र बुबा मानबहादुर मास्केको सन्तानको रुपमा भोजपुर जिल्लाको दिङ्ला भज्याङमा जन्मिएका लोकप्रिय गायक, संगीतकार, रचनाकार गंगा वरदानको जोस भने यथावत नै छ ।  

‘उनको यही जोसलाई होस्टेमा हैंसे थप्ने अभिप्रायले हामीले उनका केही पुराना गीतहरु रि–रेकर्ड गरिदिने र भिडियोसमेत निर्माण गरिदिने क्रममा उनले पहिलो पटक रेडियो नेपालमा रेकर्ड गरेको गीत ‘कहाँमा काट्यो बेतको लौरी’ लाई नयाँ भर्जनमा रि–रेकर्ड गरेका छौं ।’ सिल्भर इन्टरनेन्मेन्टका प्रमुख सौरभ श्रेष्ठले भने ।  

सानैदेखि संगीतमा होमिएका गायक रचनाकार वरदानको आर्थिक स्थितिलाई मध्य नजर गर्दै आउँदो मंसिर महिनामा ‘गंगा वरदान स्वर्णिम साँझ २०८०’ समेत आयोजना गर्ने जमर्को गरेको श्रेष्ठले बताए ।  

‘उक्त कार्यक्रमबाट उठेको सम्पूर्ण रकम एउटा कोष खडा गरी उनले प्रयोग गर्न पाउने गरी चलायमान गर्ने हाम्रो अठोट रहेको छ । यसको लागि गंगा वरदानलाई माया गर्नुहुने विश्वभर छरिएर बसेका स्रोता दर्शकवृन्दमा सहयोग गर्न हाम्रो आग्रह रहेको छ ।’ सिल्भर इन्टरटेन्मेन्टका प्रमुख श्रेष्ठले भने । 

युट्युबमा हेर्नुहोस् गंगा वरदानका गीतहरु