पटक–पटक कारबाहीमा परेपछि राजीनामा दिएका दुई जना पूर्व प्रहरी मिलेर विराटनगरमा लुटपाट धन्दा चलाएको खुलेको छ ।

विराटनगरबाट दिनदहाडै १२ लाख रुपैयाँ लुटपाट घटनामा ती दुई जना पूर्वप्रहरीको संलग्नता रहेको पाइएको हो । प्रहरीले लुटपाटमा संलग्न विराटनगर महानगरपालिका–१ पानी टङ्कीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ का ३६ वर्षीय सुनिल थापालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनीहरू प्रहरी सेवामा रहँदा पनि चोरी र लागूऔषध प्रयोगकर्ता रहेका थिए । एक वर्षअगाडि दुवै जनाले राजीनामा दिएपछि उनीहरू अपराध कर्ममा लागेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले प्रहरी हौँ भन्दै विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीको १२ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । घटना असोज २२ गते सोमबार दिउँसो १२ बजेतिरको हो । मोटरसाइकलमा रानीबाट विराटनगर बजारतिर आउँदै गर्दा साह लुटिएका हुन् ।

प्रहरीका अनुसार रानीबाट विराटनगर–११ रोडशेष चोकमा आइपुगेपछि पिछा गर्दै बा.६७ प २५०४ नम्बरको बुलेट मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को ठाउँमा पु¥याएर साहमाथि लुटपाट गरेका थिए । लुटपाटमा संलग्नले सुरुमा हामी प्रहरी हौँ भन्दै साहले चलाएको मोटरसाइकल रोकेको प्रहरीले जनाएको छ ।

त्यसपछि एक जना साहको मोटरसाइकलको पछाडि बसेर उनलाई विराटनगर–२ हनुमान मन्दिर पुर्‍याएपछि साहलाई नियन्त्रणमा लिई मन्दिर परिसरमा पु¥याएर धाकधम्की दिँदै लुटपाट गरेपछि दुवै जना फरार भएको डिएसपी दाहालले बताए ।  

लुटपाटमा संलग्नमध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेर घटनास्थलतर्फ जाँदै गरेको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । ‘दुई जनामध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेको पाइयो’ दाहालले भने, ‘अर्का व्यक्ति भने आफ्नै मोटरसाइकल चलाएर घटनास्थलमा पुगेको देखिन्छ ।’

डिएसपी दाहालका अनुसार साहको नागरिकता, उनको साथमा रहेको नगदसहितको झोला, बैङ्कको चेकबुक, विभिन्न बैङ्कका तीनवटा एटिएम, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटपाट गरिएको पाइएको छ । लुटपाट भएको रकमका बारेमा यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पारिवारिक समस्याले साह हाल भारततिर गएका कारण नेपाल फर्किएपछि लुटपाट भएको रकमका बारेमा यकिन हुने प्रहरीको भनाइ छ । पीडित साहले भने बिमामा तिर्न र बैङ्कमा जम्मा गर्न आफूले लिएर आएको १२ लाख रुपैयाँ लुटपाट भएको प्रहरीलाई बताएका थिए । 

बहालवाला प्रहरी हौँ भन्दै लुटपाट गर्ने तामाङ र थापा दुवै पूर्वप्रहरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जागिर छाडेपछि गिरोह खडा गर्दै अपराध कर्ममा उनीहरू संलग्न भएको प्रहरीको भनाइ छ । प्रहरीले लुटपाट गर्ने गिरोहको आपराधिक पृष्ठभूमिका बारेमा समेत अनुसन्धान थालेको छ ।

घटनालगत्तै लुटपाटमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । ठाउँ–ठाउँमा विशेष टोली परिचालन गरेर घटनामा संलग्नको खोजी तीव्र पारिएको थियो । तामाङ बुधबार र थापा बिहीबार बिहान पक्राउ परेका हुन् । दुवैलाई विराटनगर–१ स्थित धनावत पुलनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले तामाङको घरको दराजभित्रबाट ५ लाख ६५ हजार रुपैयाँ बरामद गरेको छ । उक्त रकम साहबाटै लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ ।