कोशी प्रदेशको मुख्यमन्त्रीको लागि संविधानको धारा १६८ (५) अनुसार दाबी पेश गरेको चौबिस घण्टासम्म पनि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त नगरेको भन्दै ४८ सांसद प्रदेश प्रमुख कार्यालय जाँदैछन् । 

बिहीबार साँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । दाबी पेश गरे पनि अहिलेसम्म मुख्यमन्त्रीमा नियुक्त नगरेपछि सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित हुने भएका हुन् । 

नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्य सहित नेपाली कांग्रेसका ९ जना प्रदेश प्रमुखको कार्यालयमा जान लागेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।

प्रदेश प्रमुख परशुराम खापुङले आज ५ बजेपछि नियुक्तिको प्रक्रिया सुरु गर्ने बताइएको छ । त्यसैको दबाबस्वरुप सांसदहरु सशरीर उपस्थित हुन लागेका हुन् । 

असोज २० गते प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लागि आधारसहित दाबी प्रस्तुत गर्न २६ गते साँझ ५ बजेसम्मको समय दिएका थिए । प्रदेस सांसद केदार कार्कीको तर्फबाट ४७ जना सांसदहरू सहित नै प्रदेश प्रमुखकोमा प्रमाणको रूपमा उभिने छन् । 

बिहीबार नै नेकपा एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुने भएका हुन् ।

सत्ता गठबन्धनको निर्णयअनुसार सांसद इन्द्रबहादुर आङ्बोलेसमेत मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । उनले कांग्रेसका ९ जना सदस्यको पुरानो हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुखले आवश्यक कानुनी परामर्श गर्ने बताएका थिए ।