इजरायलस्थित बेन गुरियन विमानस्थलबाट हिजो अपरान्ह उडेको नेपाल वायु सेवा निगमको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्यो । भावविह्ल आफन्तका मन थामिएनन् । उनीहरु अँगालो हालेर रोइरहे । युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेकाहरु ढुक्कको सास फेरिरहेका थिए, हर्षका आँसु पोखिइरहेका थिए । 

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । 

उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । नेपाली नागरिकलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल पुगेका थिए । 

उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए । 

‘इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरेबमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । 

जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गरेकामा दुई सय ५४ जना स्वदेश फर्केका छन् । 

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए । 

यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएका छन् । एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका छन् ।  बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको मन्त्री साउदले जानकारी दिए । 

‘आक्रमणमा परी  सम्पर्कविहीन भएका विपिन जोशीको खोजी निरन्तर जारी छ’, मन्त्री साउदले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।’

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि मन्त्री साउदले जानकारी दिए । 

‘कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ । 

‘उहाँहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्न म अनुरोध गर्दछु’, मन्त्री साउदले भने । 

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने मन्त्री साउदको भनाइ छ । 

परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकको उद्धार गर्न साथ दिई ऐक्यबद्धता जनाउने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरु, इजरायल सरकार तथा नेपाल सरकार, इजरायलको नेपालस्थित राजदूतावास र नेपालको इजरायलस्थित राजदूतावास जस्ता निकायहरु र विमान चालकदलका सदस्यलाई पनि धन्यवाद दिएका छन् ।

आजै उद्धार गरी नेपाल ल्याइएका नागरिकहरुलाई विभिन्न गन्तव्यमा पुर्याउनका लागि विमानस्थलमा नेपाल प्रहरीका तीन वटा बसहरु तयारी अवस्थामा राखिएको थियो ।