काठमाडौँ/ विद्युतीय चुरोट (भेप) मा हालेर सुन तस्करी गरेको आरोपमा चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताएका छन् ।

उक्त कसुर गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताएका छन्। गुरुङ हाल फरार छन्। छिरिङ ६१ किलो सुन तस्करीकासमेत आरोपी हुन् ।

विसं २०७९ पुस १० गते युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाइ ल्याएको करिब नौ किलो सुन (रु आठ करोड ५५ लाख) तस्करी भएको थियो। गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उक्त प्रकरणमा सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।