धरान । सानैदेखि गीतसङ्गीतमा रुचि राख्ने सुनसरी रामधुनी नगरपालिका–५ पञ्चायनका प्रवीण राईले बल्ल सपना पूरा गरिरहेका छन् । 

वैदेशिक रोजगारीअन्तर्गत दुबईमा रहेका उनले हालै आफ्नै शब्द, स्वर तथा एरेन्जमा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ‘गायक बन्ने सानैदेखिको सपना थियो, तर गरिबी बाधक बनिदियो’ उनले भेटमा भने, ‘चार वर्ष कतारमा काम गरेर फर्किएपछि धरानका केही सङ्गीतकारसँग सङ्गीत सिक्ने मौका पाइयो ।’ पप जनराको गीतमा रुचि राख्ने प्रवीण गीतसङ्गीतमै भविष्य खोजिरहेका छन् । ‘बाँच्नका लागि पैसा कमाउनै पर्दो रहेछ’ उनले भने ।

त्यसो त यसअघि पनि उनको गीत सार्वजनिक नभएको होइन । त्यसबेला भने अर्कै साथीले लिरिकल भिडियो मात्रै सार्वजनिक भएको थियो । अहिले भने ‘तिमी हासे’ बोलको म्यूजिक भिडियो आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेका हुन् । रक पप जनराको उक्त गीत दुई दिनअघि मात्रै सार्वजनिक गरेका हुन् । हालसम्म १५ सयभन्दा बढीले भ्यूज गरिसकेका छन् ।

धरानका विभिन्न पर्यटकीय स्थानहरुमा गीतको भिडियो दृश्याङ्कन गरेका छन् । आफ्नै लगानीमा निर्माण गरेका उनी चाँडै नै अर्को गीत लिएर आउने सपना पालेका छन् । ‘अब दुई दिनभित्रैमा दुबई फर्किँदै छु । गीतसङ्गीतलाई निरन्तरता दिन्छु’ उनले भने । गायनमा भने उनलाई धरानका सङ्गीतकार विनायक राईले सहयोग गरेको स्मरण गर्छन् । करिब १० वर्षयतादेखि उनी सङ्गीतको प्रशिक्षणहरु लिइरहेका छन् ।