विराटनगरको व्यस्त बजारमा दिनदहाडै तरवार बोकेर हिँड्ने १५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रबार प्रहरीले युवाको समूहलाई विराटनगर–९ घोघापुल चोक र शनिमन्दिरबाट पक्राउ गरेको हो । युवतीको विषयमा विवाद भएपछि दुई समूहबीच झडपको स्थिति हुनुपूर्व नै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । समाजको शान्तिलाई खलबल्याउन खोज्ने विराटनगर–४ का १८ वर्षीय सेख कबी अली, सुनसरी बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, सोही ठाउँका १९ वर्षीय राहुल दास, १९ वर्षीय ललनकुमार मेहता, सञ्जय मेहता, प्रेम चौधरी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका अलीको साथबाट प्रहरीले घरेलु हतियार तरवार बरामद गरेको छ । उनीहरूको साथबाट प्रहरीले खुँडा, लाठी र नखलगायतका घरेलु हतियार बरामद गरेको छ । 

उक्त समूह विराटनगरको घोगा पुल चोकमा भेला भई दुइटा सिटीमा शान्ति चोक जान हिँडेको अवस्थामा प्रहरीले सूचना पाएर पक्राउ गरेको हो । ‘उक्त सूचना प्रहरीले बेलैमा जानकारी पायो । मोरङ प्रहरीबाट टोली परिचालन भयो र उनीहरूलाई हातहतियारसहित पक्राउ गर्न सफल भयो ।

‘ठूलो दुर्घटना रोक्न सफल भएका छौँ’ –मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले भने । पक्राउ परेकाहरूलाई अनुसन्धान थालिएको डिएसपी दाहालले बताए । ‘अहिले घटनाको अनुसन्धान गर्दै आएका छौँ’ डिएसपी दाहालले भने, ‘अर्को समूहको को रहेछ । त्यसको पनि पहिचान गर्ने काम भइरहेको छ ।’