भोजपुरको कोट अस्पताल निर्माणका लागि निर्धारित समयावधि सकिँदा हालसम्म १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माणाधीन उक्त अस्पताल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेको हो ।
गत असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी २०७८ साउनमा निर्माण कम्पनीसँग सम्झौता भई काम थालिएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । उनका अनुसार ठेकेदारले मैदान सम्याएर, कम्पाउन्ड र रिटेनिङ वालमात्र लगाएर काम अलपत्र छाडेको छ । सहज रूपमा स्वास्थ्य सेवा पाउने आशामा बसेका कोटबासीमा कामको गति देखेर निराशा बढेको उनको भनाइ थियो । काम ढिला भएको विषयमा निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । काममा ढिलाइ भएकाले समन्वय गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको उनको भनाइ थियो ।
ठेकेदार कम्पनीलाई निर्धारित समयमा नै काम सम्पन्न गर्न पटक–पटक भनिरहे पनि बेवास्ता गरी काम नगरेको न्यौपानेले बताए । ठेकेदारका तर्फबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का रद्द गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने कार्यपालिकाले निर्णय गरेको उनले जानकारी दिए ।
‘अस्पताल निर्माणमा ठेकेदारले ढिलाइ गरेको छ । धेरै पटक भन्दा पनि काममा सोचेअनुसारको प्रगति नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि पत्राचार गरेका छौँ’ न्यौपानेले भने, ‘सम्झौताको म्याद सकिएको छ । अब पनि काम भएन भने ठेक्का रद्द गरेर ठेकेदारलाई कालोसूचीमा राख्नका लागि पत्रचार गर्ने कार्यपालिकाबाट निर्णय भएको छ ।’ अस्पताल निर्माणमा ठेकेदार कम्पनी जिम्मेवार नबनेको भन्दै पालिकाले चाँडो काम सम्पन्न गराउन पहल थालेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् ।
‘काम चाँडो अघि बढाउन ठेकेदारलाई ताकेता गरिरहेका छौँ’ उनले भने, ‘ठेकेदारले विभिन्न बहाना देखाएर काम अघि बढाउन ढिलाइ गरिरहेको छ । अब पनि काम भएन भने कानूनी प्रक्रियाअनुसार अघि बढ्छौँ ।’
निर्माण सुरु भएको दुई वर्षमा करिब १० प्रतिशतमात्र काम भएको बताउँदै एक वर्ष बढी समयदेखि निर्माण अलपत्र रहेको गाउँपालिकाका इन्जिनियर रामकुमार तामाङले जानकारी दिए । ‘दुई वर्षको अवधिमा १० प्रतिशतको हाराहारीमा मात्र प्रगति भएको छ’ उनले भने, ‘लामो समयबाट काम रोकिएको छ ।’
अस्पताल निर्माणलाई पुनःसञ्चालन गराउन पहल भइरहेको बताउँदै गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले ठेकेदार कम्पनीका प्रतिनिधिसँग काम चाँडो अघि बढाउने विषयमा फोनमार्फत् कुराकानी भएको जानकारी दिए । ‘ठेकेदारले काममा अत्यन्तै ढिलाइ गरेको छ’ अध्यक्ष बस्नेतले भने, ‘कामलाई पुनःसञ्चालन गरी निर्माण सम्पन्न गराउन पहल गरिरहेका छौँ । निर्माणका क्रममा आउने समस्याको समाधानका लागि पालिकाले आवश्यक समन्वय गर्नेछ ।’
उनका अनुसार १५ शय्याको अस्पताल निर्माणका लागि कुल लागत भ्याटबाहेक १० करोड १३ लाख ८३ हजार रुपैयाँमा सम्झौता भएको हो । हालसम्म निर्माण कम्पनीले पेस्कीबापत ८४ लाख रुपैयाँ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । (रासस)
































